0 COMMENTS
कमलराज श्रेष्ठ

सिद्धार्थ गौतम क्षत्रीय कुलका शाक्य वंशका राजकुमार हुनुहुन्थ्यो।तसर्थ स्पष्ट छ कि,उहाको कुल धर्म पनि आदि सनातन धर्म नै थियो। जब उहामा वैराग्य उत्पन्न भयो उहाले दररबारको सम्पुर्ण वैभव भौतिक सुख सुबिधा लगायत श्रीमती दुधे बालक समेतलाई त्यागी कन्थक नामका घोडा र छन्दक नामका मित्र एवं घोडाका सेवक लिएर कपिलवस्तु देशबाट मगध देशतिर लाग्नुभयो। मगध देशमा उहाले आदि सनातन धार्मिक परम्पराका श्रवण ध्यानाचार्य आलर कालमबाट सातौ लोकियध्यान लगायत शास्त्रीय ज्ञान प्राप्त गर्नुभयो र धन्यवाद दिदै उहाँ पुन: मगध देशकै अर्का श्रवण ध्यानाचार्य उद्दक रामपुतबाट आठौ लोकिय ध्यान पनि पुर्ण गर्नु भयो।तर सिद्धार्थ गौतम संतुष्ट हुनुभएन किनकी उहाँ लोकोत्तर ज्ञान प्राप्तिको भोको हुनुहुन्थ्यो। उहाँ अझ अघि बढेर उरुवेला पुग्नुभयो र शुरुमा तील चामलले प्राण धान्दै बिस्तारै निरहार कठोर ध्यानमा बस्नु त्यसै समयमा कपिलवस्तुबाट पांच ब्रह्माण सिद्धार्थ गौतम खोज्दै आईपुगे तर गौतम ध्यान साधनामा देखेर पांच ब्रह्माण पनि उहाको सेवा गर्दै त्यही बसे। यसरी छ बर्षसम्म कठोर साधना गर्दा पनि उहाले चाहेको प्राप्त नभएपछी उहाले अन्न ग्रहण गर्नुभयो। तर यो देखि पांच ब्रह्माण्हरुले गौतम तपभ्रष्ट भएको ठानी उहालाई छोडेर हिडे। तत्पश्चात एकदिन बिहान सुजता नामक स्त्रीले उहालाई खीर चढाइन अन्तत त्यही खीर नै बोधिसत्वको अन्तिम भोजन हुन गयो र सिद्धार्थ गौतमबाट बोधिसत्व गौतम बुद्ध बन्नु भयो।

महात्म बुद्धको सिद्धान्तमा रहेर बौद्ध धर्मको उदय भयो। बौद्धमार्गिहरुको अनुसार भनिन्छ शाक्य बुद्ध भन्दा अगाडि धेरै बुद्धहरु थिए र ती मध्यको शाक्यबुद्ध अन्तिम बुद्ध हो। बुद्ध जीबनी अनुसार पनि भनिन्छ, बुद्धभन्दा धेरै धेरै कल्प पहिले भगवान दीपंकर सम्यक संबुद्धले एक सुमेध नामका दुखी ब्रह्माणको मनोकामना पूरा गर्दै भविष्यको बुद्ध हुनेछौ, ” ध्वं बुद्ध भविष्यष्यती” भनी आशीर्वाद दिनुभयो। र त्यसै समयमा एक ब्रह्माण पुत्री सुमित्रालाई पनि हरेक जन्ममा ब्रह्माण सुमेधको सधर्मिणि हुँदै अन्तमा यशोधराका नामले सिद्धार्थ गौतमको अर्धाङ्गिनी हुनेछौ र बोधिसत्वबाट बिपस्यनाध्यान प्राप्त गरि जन्म मरणको कर्मबन्धनबाट मुक्त हुनेछौ भनी आशीर्वाद दिनुभयो।तदनुरुप कल्पौ कल्पसम्म बोधिसत्व प्राप्तिको लागि विभिन्न प्रज्ञापारमिताहरु प्राप्त गर्दै अन्तमा शाक्री वंशमा सिद्धार्थ नामले जन्मनु भएको प्रसंग पाइन्छ। यसरी राजकुमार सिद्धार्थले सम्यक संबुद्ध बोधिसत्व प्राप्त गरि भगवान बुद्धमा परिणत हुनुभयो। भनिन्छ चार हप्ता पश्चात् उहामा कृतज्ञताको भाव उत्पन्न भयो र उहाले प्राप्त गरेको विपस्यना ध्यान विधि उहाको पूर्व गुरुद्वय आलर कालम र उद्देकरामपुतलाई प्रदान गर्ने विचार गरेर बोधिचित्तले हेर्नू भयो तर उहाहरुले शरीर त्यागिसकेको पाउनु भयो। त्यसपछी बोधिसत्वले आफुसंग ६ बर्षसम्म बसेका पांच ब्रह्माणलाई विचार गर्नुभयो र उनिहरु मृगदाव(हालको सारनाथमा)मा पाउनुभयो।त्यसपछी उहाँ सारनाथ पुगेर ती पाच ब्रह्माणलाई विपस्यना ध्यान विधि प्रदान गर्दै प्रथम धर्मोपदेश गर्नुभयो।यसरी बुद्ध भगवानले ८० बर्ष उमेरसम्म मानिसहरुलाई मध्यामार्गको धर्मोपदेश दिनुभयो र महापरिनिर्वाण प्राप्त गर्नुभयो।

बौद्ध धर्ममा स्पष्ट धार्मिक उदारता

सुत्तपिटकको खुद्दक निकायको खुद्दक पाठमा “दस सिक्खपदं” मा भनिएको १० ओटा शील मध्य पहिलो पांच शील पंच शील हुन।बुद्ध धर्ममा पंचशीललाई प्रमुख द्वारकोरुपमा लिइन्छ।बुद्धको शीलमार्गमा हिड्नको लागि @प्राणी हिंसा नगर्ने @मध्यपान नगर्ने @चोरी नगर्ने @झुठो नबोल्ने र @पति/पत्नी बाहेक अन्यमा कुदृष्टी भाव नराख्ने(भिक्षुले व्यभिचार नगर्ने) प्रतिज्ञा गरिन्छ। पंचशीलको पाठमा महत्वपुर्ण र अनौठो लाग्ने बिषय भनेको चाहिँ अन्य धर्ममा जस्तो आफुले मानी आएको पुरानो धर्म त्याग्नु पर्ने वाध्यात्मक विधि बिधानको उल्लेख पाइदैन र यी नियमहरु पालना नगरेमा ईश्वर या कुनै शक्तिद्वार दण्डित गरिने वा नरक बाँस हुने भन्ने जस्ता मिथक पनि बिधान गरिएको पाइदैन। धर्म पालनामा नितान्त वैयक्तिक स्वतन्त्र दिएको छ। तसर्थ,बुद्ध धर्म ग्रहण पुर्वका धार्मिक विश्वासहरु पनि संस्कारको रुपमा जस्ताको तस्तै देख्न सकिन्छ। जस्तो कि, दक्षिण तथा दक्षिणपूर्वी एसियाली बौद्ध धर्ममा हीन्दु संस्कृती, जापनमा शिन्तो,झेन संस्कृती, चीनमा ताओ,कन्फ्युसियस संस्कृती र तिब्बत तथा उत्तर नेपाली क्षेत्रमा बोन संस्कृती गासिएर अ-आफ्नो धर्मिक संप्रदाय मौलाईरहेको पाउछौ। यसो हुनुमा पंचशीलको उदारता नै प्रमुख हो भन्दा अतियुक्ती नहोला।

                                                                  उत्तर नेपालको बौद्ध धर्ममा बोन संस्कृतिको प्रभाव
तिब्बतियन, भारतिय एवं नेपाली ईतिहासविदहरुका अनुसार सन६३३मा नेपालका राजकुमारी भृकुटी(ठोङेरमा) को बिवाह तिब्बती सम्राट स्रङ्गचङ्ग गम्पोसंग भएको बताइन्छ। भृकुटी विवाह गरेर तिब्बत जादा उनले नेपालबाट बुद्ध मुर्तिहरु र बौद्ध सुत्रहरु लिएर गइन र त्यहा बौद्ध धर्म प्रचार गरेको पाइन्छ।तत्प्श्चात सम्राट स्रङ्गचङ्ग गम्पो पनि बौद्ध धर्मबाट प्रभावित भै सन ६४०तिर उनले थुमी परिवारका संभोटा नामका एकजना विद्वानलाई भारतमा संस्कृत एवं बौद्ध धर्म अध्ययन गर्न पठाए र उनै संभोटाले बौद्ध ग्रन्थहरु तिब्बती लिपिमा उतारी बौद्ध धर्मको प्रादुर्भाव भएको पाइन्छ, यद्यपि भारताबाट गुरु शान्तरक्षित तथा गुरु पद्मसंभव तिब्बत भ्रमणको क्रममा भेला भए र सन ७७९मा राजा ठिसोङगदेउचेनले साम्य गुम्बा बनाएर बौद्ध धर्मको व्यापक बिस्तार गरे। यसरी सातौ शताव्दिको शुरुवातदेखी आठौ शताव्दी सम्म तिब्बतमा बौद्ध धर्मले व्यापकता पायो।जब सन ८३६मा राल्पचेनको मृत्यु भयो ततपश्चात लाङ्गदर्माले शासनको बागडोर सम्हाल्यो त्यहा बौद्ध धर्ममा गिरावट आयो र पुन: बोन धर्मलाई राजकिय धर्म बनाइयो।फलस्वरुप सन ८४२ देखि १०४२अर्थात २०० बर्षको समय तिब्बतमा बौद्ध धर्मको लागि कालो युग रह्यो। त्यसपछी सन १०४२मा अतिसा दिपंकरको तिब्बत भ्रमण भएपछी पुन बौद्ध धर्मको बिस्तार हुन थाल्यो। सन१५२०मा चोङ्गखपाको उदयपश्चात शील पालनको कडा नियम लागू गरिनुको साथै पुरानो पंथ मान्नेलाई ङिङ्गमपा र नयाँ पंथ मान्नेलाई सारपा(कग्युग्पा,शाक्यपा र्गेलुग्पा)भनियो। यसरी तिब्बत हुँदै नेपालको हिमाली भेगमा समेत बौद्ध धर्ममा प्रत्यक्ष बोन संस्कृतीको प्रभाव परेको पाइन्छ। जस्तो कि हिमाली भेगका बौद्ध मार्गिहरुले घरको अगाडि धार्च्यो( ध्वजा ठड्याउने), लुङ्गता टाङ्ग्ने, पूजा प्रकृयामा छ्याङ्ग रक्सिको प्रयोग गर्ने, साङ्ग(धुप) बाल्ने आदि जुन बोन संस्कृतीको प्रत्यक्ष उदाहरण हो।

                                                                     बौद्ध धर्म उत्तम भएकै कारण दुई ठुला आक्रमण भए।
पांचौ शताब्दिको अन्तसम्ममा भारतबर्ष तथा आसपासका क्षेत्रमा बौद्ध धर्मको व्यापक बिकास भएको पाइन्छ। लगभग छैटौ सताब्दिको शुरुआततिर हुण सम्राट मिहिरकुलको उदय भयो।मिहिरकुल अत्यन्त शक्तिसाली एवं क्रुर सम्राट थिए।भनिन्छ यीनै मिहिरकुलले प्रथम पटक आक्रमण गरि बौद्ध धर्ममा अत्यन्त ठूलो क्षति पुर्याए। फेरि सन ११९९मा तुर्क मुस्लिम आक्रमणकारी बख्तियार खिलजीले पुन: दोश्रो पटक बौद्ध धर्म माथी आक्रमण गरे। जुन आक्रमणको कारण विस्वप्रसिद्ध नालन्द विश्वविद्यालय पुर्णरुपमा ध्वस्त भयो र हजारौ हजार बौद्ध शिष्यहरु मारिए, बौद्ध धर्म संबन्धी अति महत्वपुर्ण ग्रन्थहरु संपुर्ण नष्ट भए। यद्यपि यी दुबै आक्रमणहरु बौध धर्म नराम्रो भएर गरिएको थिएन। बौद्ध सिद्दान्त अन्य धर्म सिद्दान्तभन्दा अति उत्तम भएकै कारण बौद्ध धर्म माथी आक्रमण भएको थियो।
१: मिहिरकुलले प्रथम आक्रमण गर्नुको मूल कारण- बौद्ध धर्मप्रती मिहिरकुलको आकर्षण थियो र उसले बौद्ध गुरु समक्ष आफू पनि बुद्ध धर्म सिक्न इच्छुक भएकोले बौद्ध शीक्षा दिन आइदिन अग्रह गरि पठाए। तर बौद्ध गुरुले आफू नगै एक शिष्यलाई पठाए यो देखेर मिहिरकुलले आफुलाई बौद्ध गुरुले अपमान गरेको ठानेर बदलामा बौद्ध धर्मको समुल नाश गर्ने प्रतिज्ञा गरि बौद्ध धर्ममाथी आक्रमण गरे।
२: बक्ग्तियारले बौद्ध धर्ममाथी आक्रमण गर्नुको कारण पनि मुस्लिम धर्मभन्दा बौद्ध धर्म नै उत्तम हुनु थियो।भनिन्छ, त्यस समय बख्तियारलाई असाध्री रोगले सताएर बिरामी भए। मुस्लिम मौलाह गुरुहरुले यथासंभव उपचार गरे तर केही उपाय नलागेपछि नालन्द विश्वविद्यालय का बौद्ध आचार्य शीलभद्रले मात्र हजुरलाई जीवनदान दिन सक्ने संभावना छ भनी मौलाह गुरुले बख्तियारलाई अनुरोध गरे। तर बख्तियार मर्न राजी भए तर बौद्ध गुरुबाट उपचार लिएर बांच्न चाहेन।यद्यपि बख्तियारका मतियारले बौद्ध आचार्य शीलभद्रलाई ल्याएर उपचार गराउन खोजे।तर आचार्य शीलभद्रले बख्तियारको मनसाय बुझी भन्नुभयो- ठिक मबाट उपचार नलेउ तर म तिमिलाई तिम्रो धर्मशास्त्र यो कुरान दिन्छु र सात दिनसम्म यो यति पन्नादेखी यति पन्नसम्म दैनिक पढ्नु भनी दिए।शीलभद्रको यो कुरालाई बख्तियारले सहजै (कुरान भएकोले) स्वीकार्यो। सतदिन पछि बख्तियार पुन स्वस्थ भए। तर दुर्भाग्य बक्ग्तियारले शीलभद्रप्रती कृतज्ञता व्यक्त गर्नुको सट्टा कुरान कै कारण आफू स्वस्थ भएको बुझी भ्रम पैदा भयो र उसले आफ्नो धर्मगुरुभन्दा बौद्ध गुरु पो जान्ने रहेछ भनी संपुर्ण विस्वको आस्थाको केन्द्र नालन्द विस्वविद्यालय आगो लगाई ध्वस्त पारे। तर यथार्थ भने कुरानको शक्तिले बख्तियार निको भएको थिएन, आचार्य शीलभद्रलाई थाह थियो कि बख्तियारले कुनै पनि औषधि वहाको हातबाट खांदैन भन्ने, तसर्थ बख्तियारको जीवनरक्षाको लागि वहाले ती बताएका पानाहरुमा औषधि लगाएर बख्तियारलाई कुरान दिएको थियो।
स्मरण रहोस,मुस्लिमहरु कुरान पढ्दा औलाको टुप्पोमा थुक लगाई पाना पल्टाउने गर्छन, फल्स्वरुप औलाको माध्यमबाट बख्तियारले औषधि ग्रहण गरेका थिए। मान्नुस कि नालन्द विस्वविद्यालयको बौद्ध परम्पराभीत्र कति त्यस्ता मानव रक्षाका अमुल्य सुत्रहरु थिए होलान।केवल मुस्लिम बख्तियार खीलजीको कारणले आज ती महत्वपुर्ण बौद्ध सुत्रहरु संसारका मानिसहरुबाट अदृष्यभैदियो।

सनातन धर्ममा भगवान बुद्धको महत्व

वैदिक सनातन मान्यतानुसार सृष्टिकर्ता ब्रह्माको प्रथम बर्ष बितिसकेकोछ। यो चलिरहेको ब्रह्माको दोश्रो बर्षको कल्प श्वेतबराह र मनन्वत्तर वैवस्वत हो। तसर्थ यो अट्ठाइसौ कलियुगको पहिलो चरणको अवतार बुद्ध हो र यो चरणमा प्रल्हादको अधिपत्य छ भन्ने शास्त्रीय मान्यता पाईन्छ। बुद्धलाई भगवान विष्णुको नवौ अवतारको रुपमा वैदिक सनातन धर्ममा स्वीकारेको पाईन्छ त्यसकारण सनातन हीन्दु धर्ममा बुद्धलाई स्वयं विष्णुको रुपमा महत्वकासाथ पुजिएको पाईन्छ।

अन्तमा,
भगवान बुद्धको प्रथम धर्मोपदेश ग्रहण गरि सनातन धर्मका पांच आचार्य ब्रह्माणले प्रथम पटक बौद्ध धर्मको प्रचार सुरुवात गरे।तत्कालिन समयमा संपुर्ण बौद्ध सिद्दान्तका धर्माचार्यहरु सनातन परम्पराका अनुयायिहरु नै थिए। जस्तै महायानका प्रवर्तक नागार्जुन, वसुवन्धु, असंग तथा धर्मक्रीती जस्ता महान गुरुहरु सनातन धर्म परम्पराबाट नै बौद्ध सिद्दान्त पालना गर्नु भएको थियो। पछि तिब्बतमा बौद्ध सिद्दान्त बिस्तार गर्नु हुने गुरु शान्तरक्षित,गुरु पद्मसंभव,अतिसा दिपंकर पनि भारतबाट नै जानुभएको थियो।त्यस्तै ततकालिन समयमा विस्वप्रसिद्द नालन्द विस्वविद्यालयका प्रसिद्द आचर्यहरु शीलभद्र, धर्मपाल, चन्द्रपाल,गुणमती, स्थिरमतिहरु पनि सनातन धर्मका ब्रह्माण परिवरका थिए, जसले विस्वमा बुद्ध सिद्दान्त फैलाउन महत्वपुर्ण भुमिका निभाएका थिए। तसर्थ बुद्धिज्म; सनातन धर्मको उर्वरतामा फक्रेको सुन्दर फूल हो भन्दा अन्याय नहोला। बुद्धम शरण गच्छामी!!!

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।