0 COMMENTS

काठमाडौँ१७,चैत्र०७४/ नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी सेवाको व्यावसायिक सुरुवात गरेको छ । शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘नमस्ते क्रेडिट’ सेवाको सुरुवात गरेका हुन् । टेलिकमले गत माघ २२ मा सापटी सेवाको ‘सफ्ट लन्च’ गरेको थियो ।

कार्यक्रममा राज्यमन्त्री बास्कोटाले नेपालमा दूरसञ्चार सेवाको अग्रणी कम्पनीका रूपमा रहेको टेलिकमले ढिलै गरी भए पनि राम्रो कार्यको सुरुवात गरेको प्रतिक्रिया दिए । ‘अधिकांश नेपालीले प्रयोग गरिरहेको टेलिकमको प्रिपेड सेवामा सुरु भएको क्रेडिट सेवाले कम्पनीको प्रतिस्पर्धी क्षमता र गुणस्तरीयतामा वृद्धि गर्न थप बल पुग्नेछ,’ उनले भने ।’

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीको गौरवशाली यात्रामा नमस्ते क्रेडिट सेवा अर्को कोसेढुंगा सावित हुने दाबी गरिन् । ‘यसबाट ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट ढुक्कसँग कुराकानीलाई निरन्तरता दिन सक्छन्,’ उनले भनिन्, ‘त्यसले कम्पनीप्रति ग्राहकमा थप विश्वास जागृतसमेत गराउनेछ ।’

कस्ता ग्राहकले पाउन सक्छन् सापटी सेवा ?
कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलका प्रयोगकर्ताका लागि यो सेवा ल्याएको हो । कल गर्दागर्दै ब्यालेन्स सकिएमा ग्राहकले सापटी रकमको सहयोगबाट कुराकानीलाई निरन्तरता दिन सक्नेछन् । तर, सापटी सेवा कम्तीमा ३ महिना पहिलेदेखि प्रयोगमा रहेका सिममा मात्र उपलब्ध हुनेछ । सिम सक्रिय रहेको अवधि तथा कुल रिचार्ज गरेका आधारमा सापटी रकम निर्धारण गरिने कम्पनीले जनाएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ ।

कतिसम्म पाइन्छ सापटी ?
यस्तो सापटी रकम ५ देखि ४० रुपैयाँसम्म हुनेछ । सापटी लिएको रकम त्यसपछिको रिचार्ज रकमबाट काटिने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले यसरी काटिएको रकमको जानकारी एसएमएसबाटै पाउनेछन् । यसरी सापटी लिएको रकममा कुनै किसिमको कर नलाग्ने बताइएको छ ।ग्राहकले आफूले पाउन सक्ने रिचार्ज रकमको विषयमा जानकारी लिन म्यासेज बक्समा अंग्रेजीमा एसटिएटिएएस लेखेर १४७७ मा एसएमएस गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।