0 COMMENTS

काठमाडौं०८चैत०७४/  कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई स–सम्मान संसदमा भित्र्याउने गृहकार्य थालिएको खबरले पीडित दुःखी छन् ।दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको भन्दै प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएका उनीहरु ‘न्याय’को याचना गरिरहेका छन् । तर, राजनीतिक नेतृत्व चौधरीलाई स–सम्मान सदन भित्र्याउने कसरतमा छ ।

हाँसीखुसी नै चलिरहेको थियो शारदा बोहोराको जीवन । प्रहरी सेवामा थिए श्रीमान् । घर व्यवहार चलाउँदै सन्तानको शिक्षा–दीक्षामा केन्द्रित थिइन् यिनी ।तर, कहालिलाग्दो रुपमा आएको २०७२ भदौ ७ गतेले यिनको जीवनको लय नै मोडिदियो । कैलालीको टीकापुर ‘हत्याकाण्ड’को उत्कर्षमा श्रीमान् बलराम विष्ट सदा–सदाका लागि विदा भए ।

टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित ६ प्रहरी र एक नावालकको हत्या भयो । नियतिको ‘बज्रपात’ स्वीकार्दै शारदा र उनका सन्तान ‘न्याय’को याचना गरिरहँदा टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी कैलाली–१ बाट सांसद निर्वाचित भए ।

आत्मसमर्पण गरेका चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठायो । कारागारमै अनसन थालेपछि उपचारका लागि भन्दै काठमाडौं ल्याइएका चौधरीलाई गृहमन्त्री रामबहादुर थापाले अस्पतालमै पुगेर जुस मात्रै पिलाएनन् राजनीतिक नेतृत्व उनलाई सांसदको सपथ गराउनेबारे छलफल चलाइरहेको छ ।

जीवनको लय नै मोडिदिने एक अभियुक्तलाई ‘सम्मान’ गर्ने राजनीतिक नेतृत्वको तयारीले शारदा र उनको परिवारलाई झनै मर्माहत बनाएको छ ।

प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिएको राष्ट्रिय जनता पार्टी नेपालले चौधरीको सपथलाई ‘एक सुत्रीय’ माग बनाएको छ । प्रधानमन्त्री ओली गुन तिर्नुपर्ने दायित्वमा रहँदा गृहमन्त्रीको ‘जुस प्रकरण’ले चौधरीको मुद्दा फिर्ता नै हुने हो कि भन्ने आशंकालाई बल दिएको छ ।

तर, राजनीतिक कारण भन्दै राष्ट्र सेवकको हत्याका आरोपीलाई चोख्याउने ‘षडयन्त्र’ भइरहेको भन्दै चुप लागेर नबस्ने चेतावनी दिन्छन् पीडित ।

बलरामकी छोरी बसन्तीले त सञ्चार माध्यममार्फत प्रधानमन्त्री केपी ओलीलाई चिठ्ठी लेख्दै अपराधलाई राजनीतिकरण नगर्न भन्दै आफूहरुलाई न्याय दिन आग्रहसमेत गरिसकेकी छन् ।

पत्रको जवाफ आउला भन्ने आश नरहेपनि ‘समानता र न्याय’को चर्को भाषण गर्ने प्रधानमन्त्री चौधरीलाई सदनमा भित्र्याउन ‘मतियार’ नभइदिए हुन्थ्यो भन्ने यिनीहरुको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।