काठमाडौँ, २५ फागुन ०७४/ नेपालस्थित भारतीय राजदूतावासले नेपाल र भारतबीचको दौत्य सम्बन्ध भएको ५० वर्ष पुगेको अवसरमा स्थापना गरेको ‘स्वर्ण वर्ष छात्रवृत्ति’ बाट आज दुई सय नेपाली विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
नेपालको उच्च शिक्षाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ती विद्यार्थीलाई मासिक तीन हजारदेखि चार हजारसम्मको छात्रवृत्ति प्रदान गरिएको हो ।
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले सो पुरस्कार प्रदान गर्नुभयो ।दुई देशको सम्बन्ध थप घनिष्ट तुल्याउन दूतावासले सन् २००२ मा वार्षिक एक सय जनाबाट शुरु गरेको सो छात्रवृत्ति संख्या सन् २०१२ दोब्बर गरिएको हो । नेपाल र भारतबीच सन् १९५१ मा आर्थिक सहकार्य शुरु भएको थियो ।
कार्यक्रममा सचिव वैरागीले नेपालले लिएको समृद्धिको लक्ष्यका लागि यस्ता छात्रवृत्तिले सहयोग गर्ने भन्दै मुलुकको आर्थिक र सामाजिक विकासका लागि आफ्नो सीप र क्षमता प्रयोग गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
राजदूत पुरीले दुवै देश मिलेर विश्व बजारमा संयुक्त उपलब्धि हासिल गर्न सकिने भन्दै नयाँ÷नयाँ क्षेत्रमा विद्यार्थीको प्रवेशले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभयो ।
भारत सरकारले चिकित्सा, विज्ञान, कृषि, मानविकी, पशु विज्ञान, औषधि विज्ञान, कम्प्युटर विज्ञान गरी नेपाल र भारतमा कूल वार्षिक करिब तीन हजार विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ ।