0 COMMENTS

खोटाङ, २३ फागुन०७४/मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरी नसकिँदै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा÷ढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको हो ।

तीन वर्षअघि देखि कालोपत्र थालिएको दिक्तेल–हलेसी सडकखण्डको हलेसी र अर्खौलेको बीचमा गरिएको कालोपत्र महिनादिन पनि नपुग्दै उप्किएको स्थानीयवासीले बताएका छन् । तीन खण्डमा विभाजन गरेर काम थालिएको सो सडकको दिक्तेलदेखि हुर्लुङसम्मको खण्डमा भने अहिले ग्राभेलिङको काम भइरहेको छ । उक्त खण्डमा पनि नुनथलास्थित हुर्लुङ पाखाको कमसल (सेतो फोस्के) रोडा÷ढुङ्गा प्रयोग गरेको पाइएको छ । सडक कालोपत्र गुणस्तरहीन बन्दै गएकोप्रति अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।

सडक कालोपत्रको जिम्मा लिएको ठेकेदार कम्पनीले नाफा कमाउने उद्देश्यले कमसल सामग्री प्रयोग गरेको स्थानीयवासीको आरोप छ । जिल्लाको प्रमुख मार्ग दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन जेभी त्रिशूलीले लिएको छ । कालोपत्र गुणस्तरहीन भएको जनगुनासो आएपछि ठेकेदार राम पाख्रिनसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

निर्माणस्थलमा खटिएका इन्जिनियरहरुले ठेकेदारले अह्राएअनुसार आफूहरुले काम गरेको बताएका छन् । काम सम्पन्न नभई कालोपत्र उप्किएका बारेमा प्राविधिक सहितको टोली लिएर स्थलगत अनुगमन गर्ने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताउनुभयो । “हामीले गुणस्तर कायम गर्न पटक–पटक खबरदारी गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “गुणस्तरहीन भएकै रहेछ भने कारबाहीको प्रक्रिया अगाडि बढाउँछु ।”

जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सूर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्र गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन जेभी त्रिशूलीले लिएको छ । एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्नेगरी काम थालिएको हो ।

करीब दश वर्ष अघिदेखि यातायात सञ्चालन भएको दिक्तेल–हलेसी सडक कालोपत्र नहुँदा हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । सम्झौता गरेको लामो समयसम्म सुस्त गतिमा काम भइरहेको दिक्तेल–हलेसी सडक कालोपत्रे गर्ने कार्यले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ठाडो निर्देशनपछि गति लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।