0 COMMENTS

रामपुर, पाल्पा, ११ फागुन ०७४/ जिल्लाको माथागढी गाउँपालिका–५, गोठादीका वडाध्यक्ष रनबहादुर खाम्चालाई वडाध्यक्षको जिम्मेवारी पाएपछि उहाँ सरकारी कर्मचारी जस्तै दिनहुँ व्यस्त हुनुहुन्छ ।

वडा कार्यालयमा बसेर सिफारिस लेख्ने कामकाजमा दिन बितेको पत्तो नभएको खाम्चा बताउनुहुन्छ । बिहान १० बजे कार्यालयमा पुगेपछि सिफारिस लेख्ने कार्यमा उहाँलाई भ्याइनभ्याइ हुन्छ ।

“कर्मचारीभन्दा अघि नै कार्यालयमा पुगेको हुन्छ, अहिले सिफारिस लेख्ने काममा व्यस्त छु, जनताको सेवा गर्न पाउँदा निकै खुशी लागेको छ” उहाँले भन्नुभयो । उहाँले सार्वजनिक बिदाको दिन पनि नभनी जनताको सेवामा समर्पित हुँदै आउनुभएको छ ।

निस्दी गाउँपालिका–१ का वडाध्यक्ष पूर्णबहादुर खाँण पनि कार्यालयमा बसेर सिफारिस लेख्नमै व्यस्त हुनुहुन्छ । “वडाध्यक्षको जिम्मेवारी सम्हालेपछि सिफारिस लेख्ने कामले एकछिन पनि फुर्सद छैन”– उहाँ भन्नुहुन्छ । “दिउँसो कार्यालयमा बसेर सिफारिस लेख्ने, बिहान साँझ वडाको विकास निर्माणका काममा व्यस्त छु, जनता र गाउँको विकास गर्नैप¥यो” उहाँले भन्नुभयो ।

जन्म, मृत्यु, विवाह, बसाइँसराइबाहेक अन्य नागरिकता, मालपोतलगायतका धेरै प्रकृतिका सिफारिस वडाध्यक्षले नै गर्नुपर्दछ । कामको जिम्मेवारी गाउँपालिकाका अध्यक्ष, नगरप्रमुखलाई भन्दा वडा अध्यक्षलाई बढी हुन्छ ।

तर त्यही वडाध्यक्षलाई बजेटसम्बन्धी पूर्ण अधिकार नभएको तानसेन नगरपालिका–६ का अध्यक्ष सागर महर्जन बताउनुहुन्छ । कामको जिम्मेवारी बढी, बजेट अधिकार शून्यजस्तै भएका कारण अबको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार हुने व्यक्ति पाउन कठिन हुने उहाँको भनाइ छ ।

जनप्रतिनिधिले गर्ने सिफारिसको काम कर्मचारीबाट भयो भने जनप्रतिनिधिले सिफारिस लेख्ने समय विकास निर्माणको काममा दिन सकिने रैनादेवी गाउँपालिकाका वडाध्यक्ष जीवनाथ पोखरेल बताउनुहुन्छ ।

वडाध्यक्षलाई कार्यालय समय अवधिभर सिफारिस लेख्ने, हस्ताक्षर गर्ने कामले एकछिन फुर्सद हँुदैन । वडा कार्यालय व्यवस्थापनको लागि पनि बजेट अत्यन्त कम भएको र वडाबाटै खाता सञ्चालनको व्यवस्था नहँुदा वडाध्यक्षलाई काम गर्न अप्ठ्यारो भएको उहाँहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।