काठमाण्डाै २,फागुन२०७४/ १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा खुलेर एक–अर्कालाई सुनाउँछन् । फूल, गिफ्ट दिन्छन् र सेलेब्रेसन गर्छन् । प्रेम जोडीले उत्सवका रूपमा भ्यालेन्टाइन्स डे मनाउँछन् । खासमा यो दिवस सन्त भ्यालेन्टाइनको सम्झनामा मनाउने गरिन्छ । यसको इतिहास खोतल्दा तेस्रो शताब्दीमा पुग्नुपर्छ ।
सन्त भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाइन्छ । यस दिन कुनै केटा वा केटीले प्रपोज गर्दा इन्कार गर्न सक्दैनन् भन्ने मान्यता पनि छ । भ्यालेन्टाइन्स डेमा प्रेमी–प्रेमिका, पति–पत्नीले एक–अर्कालाई गिफ्ट दिएर प्रेम साट्ने गर्छन् ।
इ.सं. २६९ को १४ फेब्रुअरीमा सन्त भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो । भ्यालेन्टाइन रोमका पादरी थिए । उनी पादरी मात्र थिएनन्, प्रेमका पुजारी पनि थिए । त्यसैले उनलाई फाँसी दिइएको दिनलाई प्रेम दिवसका रूपमा विश्वभर मनाइन्छ ।
रोमका शासक क्लाडियसले उनलाई फाँसी दिएका थिए । क्लाडियस तेस्रो शताब्दीमा रोमका सम्राट थिए । उनले भ्यालेन्टाइनलाई किन दिए त फाँसी ?
सम्राट क्लाडियसले त्यतिवेला पूरै राज्यमा अचम्मको आदेश जारी गरे । उनको आदेशमा भनिएको थियो कि अधिकारी या सैनिकले विवाह गर्न नपाउने । उनले विवाहलाई गैरकानुनी घोषणा गरिदिए । किनभने, अविवाहित पुरुषसँग अब्बल क्षमता हुन्छ भन्ने क्लाडियसको मान्यता थियो । विवाहपछि पुरुषको बुद्धि र शक्तिमा ह्रास आउने उनको अड्कल थियो । तर, यस्तो हुकुमलाई सन्त भ्यालेन्टाइनले अन्यायपूर्ण भएको बताए र विरोधमा उत्रिए । भ्यालेन्टाइन विरोधमा मात्र उत्रिएनन्, उनले कैयौँ अधिकारी, सैनिक र युवा जोडीको विवाह नै गराइदिए । उनले मानिसलाई विवाह गर्न प्रोत्साहित गर्थे । यस्तो गतिविधिलाई उनले निरन्तरता दिए ।
जब राजा क्लाडियसले यस्तो कुरा थाहा पाए त्यसपछि उनी निकै क्रोधित बने । र, भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय गरे । १४ फेब्रुअरीको दिन उनलाई फाँसी दिइयो र भिया फ्लामिनियामा दहन गरियो । यही दिनलाई प्रेम दिवसका रूपमा मनाउन सुरु गरिएको हो ।
उनीसँग जोडिएको अर्को पनि कथा छ । भ्यालेन्टाइनलाई जेलमा कोचिएको थियो र उनले एक जेलरकी छोरीलाई मन पराएका थिए । भ्यालेन्टाइनले जसलाई मन पराएका थिए, उनी दृष्टिविहीन थिइन् । उनीहरू प्रेममा परे । भ्यालेन्टाइनले आफैँ भेटेर जेलरकी छोरीलाई पहिलोपटक ग्रिटिङ दिएका थिए । एक दिन उनी भ्यालेन्टाइनलाई भेट्न जेलमा गएकी थिइन् । तर, त्यहाँ उनले भ्यालेन्टाइन होइन, उनले लेखेको पत्र मात्र भेटिन् । मर्नुभन्दा पहिले भ्यालेन्टाइनले आफ्नो हस्ताक्षरसहित लेखेका थिए, ‘फर योर भ्यालेन्टाइन ।’ जुन उद्धरण आजको दिनमा पनि प्रयोग गरिन्छ । यो पनि विश्वास छ कि जब भ्यालेन्टाइनको मृत्यु भयो, अकस्मात् उनकी प्रेमिकाले आँखा देख्न थालेकी थिइन् ।
प्रेम हप्ता
प्रेम जोडीका लागि फेब्रुअरी विशेष महिना हो । यस महिनाको एक हप्तालाई ‘भ्यालेन्टाइन्स विक’का रूपमा मनाउने गरिन्छ । भ्यालेन्टाइन्स विकको सुरुवात ‘रोज डे’बाट सुरु हुन्छ । गुलाबलाई प्रेमको संकेतका रूपमा लिइन्छ । फरक–फरक रङका गुलाबको अर्थ पनि फरक–फरक छन् । रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ भने पहेँलोलाई साथी, पिंक वा पिचलाई प्रशंसा र सेतो गुलाबलाई सम्बन्धको प्रतीक मानिन्छ । त्यसैले तपाईं कसैसँग प्रेम गर्नुहुन्छ भने रातो गुलाब दिन सक्नुहुन्छ ।
रोज डेपछि आउँछ ‘प्रपोज डे’ । यो प्रेम गर्नेहरूका लागि अवसरको दिन पनि हो । यस दिन आफ्नो पार्टनरलाई गिफ्ट र फूल दिएर प्रपोज गर्न सकिन्छ ।
तेस्रो दिनलाई ‘चकलेट डे’का रूपमा सेलेब्रेसन गरिन्छ । यस दिन आफ्नो प्रियजनलाई चकलेट दिएर प्रेम आदान–प्रदान गरिन्छ । चकलेटले सम्बन्धमा मिठास थप्ने विश्वास छ । त्यसपछि आउँछ, ‘तेड्डी डे’ । जुन दिन आफ्नो प्रियजनलाई डल दिन सक्नुहुन्छ । यसको सांकेतिक अर्थ हुलेवाला बच्चामा लुकेको
आनन्द हो ।
त्यसपछि आउने अर्को दिन हो ‘प्रमिस डे’ । प्रेम जोडीले एक–अर्काप्रति गर्ने प्रमिसले सम्बन्धमा विश्वासको वातावरण सिर्जना गर्छ । र, सम्बन्धलाई झन् कसिलो बनाउन भूमिका खेल्छ ।
त्यसपछिको दिनलाई ‘हग डे’का रूपमा मनाइन्छ । यस दिन एक–अर्कामा हग गरेर सेलेब्रेसन गरिन्छ । हगले प्रेम जोडीलाई सुरक्षित महसुस गराउँछ । हग गर्दा चिन्ता र तनाव पनि दूर हुने विश्वास छ ।
भ्यालेन्टाइन्स डेको अघिल्लो दिनलाई ‘किस डे’का रूपमा मनाइन्छ । यही दिन युगल जोडीले किस गरेर प्रेम भाव प्रकट गर्छन् । अनि १४ फेब्रुअरीलाई भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवसका रूपमा मनाइन्छ । यो दिनमा एक–अर्कालाई गिफ्ट दिएर प्रेम प्रकट गरिन्छ ।एजेन्सीको सहयोगमा भ्यालेन्टाइन्स डेबारे तयार पारिएको सामग्री ।