इटहरी १६माघ०७४/ इटहरी उपमहानगरको सिएफएल खरिद प्रकरणमा मुछिएका लेखा शाखा प्रमुख लखनलाल चौधरी लेखा फाँटबाट हटाइएका छन् । चौधरीको स्थानमा आएका नयाँ लेखा प्रमुख लेखराज भट्टले आइतबारबाट काम सुरु गरेका छन ।
मेयर द्वारिकलाल चौधरीले धेरै आलोचना र दोष लेखा शाखामा देखिएको भन्दै शाखा प्रमुख हटाइएको बताए ।दशक बढी समयसम्म लेखा शाखामा रहेका चौधरी यस अगाडिका विभिन्न खरिद प्रकरणमा पनि विवादमा आएका थिए । सिफएल खरिदमा अनियमतिता भएको खबर सार्वजनिक भएपछि भने उनलाई हटाउन उपमहानगर गेटमा प्रदर्शन नै भएको थियो ।
इटहरी उपमहानगरका मेयर चौधरी र उपमेयर लक्ष्मी गौतमले भने लेखाशाखा प्रमुख चौधरीलगायत दोषी फाँटका कर्मचारीलाई कारवाही गर्न नमिल्ने बताउँदै आएका थिए । सिएफएल प्रकरण अख्तियारमा गइसकेकाले त्यसमा आफ्नो कुनैपनि कारवाही नहुने तर्क गर्दै आएका थिए ।
सिएफएल प्रकरणमा मुछिएका दोषीलाई सडकमै कारबाहीको माग भएपछि भने नगरकार्यपालिकाले स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टिकरण सोधिएको समय सकिएपछि पनि कर्मचारीहरुले लिखित स्पष्टिकरण नदिएको मेयर चौधरीले बताए ।