काठमाडौँ, ३० पुस०७४/ नेपालस्थित विभिन्न दूतावासमा जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको राजविराज स्थायी घर भई हाल रवि भवन, काठमाडौँ बस्ने रमाकान्त चौलान भन्ने रमाकान्त नौनिया र उनको समूहले करिब ६० जनालाई विभिन्न दूतावासमा जागिर लगाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
सो समूहले दूतावासमा कर्मचारीका रुपमा जागिर लगाइदिने, विभिन्न दूतावासको जासुसी संस्थामा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति रु तीन लाखदेखि पाँच लाखसम्म उठाएको प्रहरीले जनाएको छ ।
पीडितहरुले दिएको उजुरीको आधारमा नौनियालाई सहयोग गर्ने पदम बहादुर श्रेष्ठ, बिनोद कार्की, सन्तोष कार्की, चित्रबहादुर श्रेष्ठ, गिता महर्जनलाई समेत महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई महाशाखाले काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँमा पठाएको छ ।