0 COMMENTS

काठमाडौं ११पुस०७४/काठमाडौंको मैतीदेवीमा बिहान भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन्। कपनबाट कालिमाटी जाँदै गरेको सिटी यातायातको बा२ख ८७३३ नम्बरको बस मैतीदेवी पुलनजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायव निरीक्षक रामबहादुर बोहोराले जानकारी दिए।

बोहोराका अनुसार घाइतेमध्ये ८ जनालाई नर्भिक अस्पताल र ९ जनालाई राष्ट्रिय ट्रमा सेन्टर भर्ना गरिएको छ। घाइतेमध्ये ४ जना गम्भीर छन्। घाइते अधिकांश कालिमाटीमा तरकारी लिन हिँडेकाहरू रहेको बोहोराले जानकारी दिए।

सीसीटीभी फुटेजका आधारमा दुर्घटना मंगलबार बिहान सबा ३ बजे भएको प्रहरीले जनाएको छ। तीब्र गतिमा रहेको बस चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। चालक भने फरार छन्। बिजुलीको ट्रान्सफर्मर रहेको पोलमा बस ठोक्किएको थियो भने पोलले बसलाई थिचेको छ।

प्रहरीका अनुसार दोलखाका २६ वर्षीय यज्ञराज खतिवडा, रामेछापका ४५ वर्षीय गंगालाल तामाङ, उनकी श्रीमती ४३ वर्षीय संजिला तामाङ, भारतीय नागरिक भोजहरि अन्सारी, वर्ष ५७ की साबित्री थापा, ५४ वर्षीय हरिशरण फुयाल, काभ्रेकी ४५ वर्षीय च्याङ्वा तामाङ, सुर्खेतकी ३६ वर्षीय कमल महत, सिन्धुपाल्चोक मेलम्भीकी तेजकुमारी चालिसेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

यस्तै सप्तरीका ४० वर्षीय भोजबहादुर राई, उनकी श्रीमती ३९ वर्षीय मैनाकुमारी राई, ३९ वर्षीय गीता धिमाल, गोकर्णेश्वरका ६४ वर्षीय नारायणप्रसाद दाहाल, वर्ष २६ की गीता अधिकारी, दोलखाकी ३७ वर्षीय पुर्ध धामी, कागेश्वरी नगरपालिकाकी ३९ वर्षीय माया श्रेष्ठ र एक ७० वर्षीय वृद्धाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।