काठमाडौँ, २७ मंसिर०७४/ महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क बढाई २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका तुलबहादुर तामाङलाई आइतबार सिन्धुपाल्चोकबाट पक्राउ गरी आज काठमाडौँमा सार्वजनिक गरेको हो ।
तामाङले संखुवासभाकी मनकला गुरुङसँग फेसबुकमार्फत सम्पर्क बढाई विवाहसमेत गरेको भनी मनकलाको नातेदार राजेश गुरुङ र कैलाश गुरुङलाई युएस आर्मीमा जागिर लगाइदिन्छु भनी रु २१ लाख ठगी गरेका थिए ।
तामाङले यसअघि फेसबुकमार्फत साथी बनाई लेबनानमा रहेकी सिन्धुपाल्चोककी सिर्जना दोङसँग (डिपेन्डेन्ट भिसा) आश्रित प्रवेशाज्ञामा अमेरिका लैजाने भनी नौ लाख, सञ्जय दोङ, मिम लामा र कुशुम लामालाई क्यानडा लैजाने भनी २२ लाख ठगी गरेका थिए ।
तामाङले उक्त ठगी मुद्दामा विसं २०७३ साउन महिनामा पक्राउ गरी कारबाही भएकामा केही समय थुनामा बसी धरौटीमा छुटेपश्चात् पुनःठगी धन्दा शुरु गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।