धनगढी, २४मंसिर २०७४/ कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ प्रतिनिधिसभातर्फ एमालेका नारदमुनी राना २७ हजार २०२ मत ल्याइ बिजयी भएका छन ।आज आइतबार सम्पन्न मतगणना अनुसार रानाकी निकटतम प्रतिदवन्दी नेपाली काँग्रेसकी डा.आरजु राणाले २२ हजार ३२२ मत ल्याएकी छन् ।रानाले राणासँग चार हजार ८८० मतको मतान्तरमा जितेका हुन् ।९१ हजार ८१८ हजार मतदाता रहेको यो क्षेत्रमा ६१ हजार ९३४ मत खसेका थिए।
काे हुन त नारदमुनी राना ?
समानुपातिकतर्फ सभासद् रहिसकेका रानाको जन्म २०२९ सालमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा भएको हो । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका रानाले २०४५ सालबाट राजनीति सुरु गरेका थिए । २०४५ सालमा बामपन्थी विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका रानाले २०५४ सालमा धनगढी नगरपालिकामा उपमेयरमा निर्वाचित भएका थिए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट सामानुपातिक सभासद् बनेका रानाले यस पटक भने प्रत्यक्षकै टिकट हात पारेर कांग्रेस नेतृ राणालाई चुनाैती दिइरहेका छन् ।
केही समय अगाडिसम्म धनगढीमा शिवनगर खानेपानी तथा सरसफाई आयोजनाको अध्यक्ष रहेका रानाले आयोजना सम्पन्न गरेपछि उनले गरेको कामको प्रशंसा हुँदै आएको थियो । खानेपानी आयोजनाका लागि जनस्तरवाट जुट्नु पर्ने रकम नउठेपछि उनले आफ्नो घर–जग्गा धितो राखेर खानेपानी सम्पन्न गरेका थिए । ६ महिना सेती अञ्चल अस्पताल विकास समितिको अध्यक्ष रहिसकेका रानाले धनगढी नगर विकास समितिको अध्यक्ष भएर पनि काम गरिसकेका छन् ।