0 COMMENTS

काठमाडौँ, १२ मंसिर०७४/ निर्वाचन आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित ‘पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेलाई निर्देशन दिएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता विपरित ‘कान्तिपुर’, ‘अन्नपूर्ण पोष्ट’, ‘नयाँ पत्रिका’, ‘नागरिक’ र ‘राजधानी’ दैनिकलगायत पत्रिकामा विज्ञापन छपाएको जनाउँदै आयोगले एमालेलाई स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

एमालेलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, “पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित पार्टीको निर्वाचन चिन्हमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिँदा यहाँलाई कारबाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ ।”

पाँच दैनिक पत्रिकालाई स्पष्टीकरण
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता विपरित विज्ञापन प्रकाशन गरेको भन्दै पाँच दैनिक पत्रिकासँग पनि स्पष्टीकरण सोधेको छ ।

‘कान्तिपुर’, ‘नागरिक’, ‘अन्नपूर्ण पोष्ट’, ‘नयाँ पत्रिका’ र ‘राजधानी’ दैनिकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित उक्त पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न ती दैनिक पत्रिकालाई निर्देशन दिएको छ ।

स्पष्टीकरणमा भनिएको छ, “आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट लागू गरिएको निर्वाचन आचारसंहिता विपरित आज प्रकाशित दैनिक पत्रिकामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित उक्त पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । उक्त कार्य गरेबापत यहाँलाई कारबाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।