0 COMMENTS

काठमाण्डाै१२मंसिर०७४/स्वास्थ्य जाँच वा स्वस्थ जीवनशैली अवलम्बन गर्ने कुरा विरामी भएपछि मात्रै गर्ने हो भन्ने सो आम रुपमा व्याप्त छ । गम्भीर प्रकारका रोगका कारण अकालमा ज्यान गुमाउँनुपर्ने वा आजीवन औषधिको भरमा जीवन धान्नुपर्ने बाध्यताको कारण यही स्वाभाव नै प्रमुख कारक हो ।
तर गम्भीर रोगको अवस्था आउँनै नदिनेगरी नियमित स्वास्थ्य जाँच, स्वास्थ्य चेतना विस्तारजस्ता महत्वपूर्ण भूमीका हुन्छ । यही तथ्यलाई मध्यनगर गरेर सरकारले स्वास्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले जनता स्वास्थ्य केन्द्र स्थापना सुरु भएको छ ।  यस्तो केन्द्रको सुरुवात काठमाडौ क्षेत्र नं ४ बाटै सुरु हुने भएको छ ।
गम्भीर रोगको अवस्थमा पुग्नै नदिन आवश्यक पर्ने नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक उपचार, परामर्श लगायतका स्वास्थ आनिवानी र व्यवहार प्रवर्धन गर्न यस्तो केन्द्र स्थापना हुन लागेको हो ।

तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाको पहलमा पूर्व मन्त्री थापाकै अवधारणा अनुसार महानगर, उपमहानगर र नगरपाकिलाकाका हरेक वडामा यस्ता केन्द्र स्थापनाको काम अगाडि बढाइएको हो । जस अनुसार पहिलो चरणमा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा शुरुवात हुने सम्झौता भए थियो ।

जन अनुसार बजेट समेत सुनिश्चित भइ शुरुवातको चरणमा रहेको छ । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले केन्द्र स्थापनासँग सामान्य रुघाखोकी लाग्दा पनि ठूलै अस्पतालमा धाउनुपर्ने अवस्थासमेत अन्त्य भई घरआँगनमै उपचारात्मक र रोकथाममुलक सेवा पुर्‍याएर अस्पतालको चापसमेत घटाउने बताए ।

थापाका अनुसार केन्द्रबाटै योग तथा शारीरिक व्यायामसहित स्वास्थ्यसँग खाना, पानी लगायतको गुणस्तर पनि नियमन गरिनेछ । विभिन्न अध्ययनले सहरका गरिबमा खोप, परिवार नियोजनजस्ता आधारभुत सेवाको पहुँच कमजोर रहेको देखाएको छ । सरकारले धेरै औषधी सेवा निःशुल्क गरे पनि सहरबासी नै वञ्चित हुनुपरेको र सामान्य सेवाका लागि पनि चर्को शुल्क र लाइन लाग्ने ठूला अस्पताल नै धाउनुपर्ने बाध्यता छ।
अस्वस्थकर जीवनशैली,तनावलगायत कारणले शहरमा मुटु, मिर्गौला, क्यान्सरजस्ता रोगसँगै मानसिक स्वास्थ्य समस्यासमेत सहरमा बढ्दै गएको छ । रोग लागिसकेपछि महंगा उपचार र जीवनभर कष्ट दिने यी यस्ता धेरै रोग जीवनशैली र खानपानमा परिवर्तनले घटाउन सकिन्छ । स्वास्थ्य केन्द्रमार्फत् स्वस्थ आहार र बानी प्रवर्द्धनसहित मनो परामर्शसमेत दिइने हुनाले रोगको दर घटाउन सहयोग पुग्ने स्वास्थ्य अधिकारीले विश्वास लिएका छन् ।
प्रत्येक केन्द्रअर्न्तगत एक हेल्थ इन्पेक्टरसमेत खटाएर स्वास्थ्य जीवनका लागि वातावरणको नियमित अनुगमन समेत हुनेछ । स्वास्थ्य निरीक्षकले त्यस क्षेत्रभित्र स्वास्थ्यसँग जोडिएका वातावरणीय सेवा सुविधासहित खाद्य, पानीलगायतको निरीक्षणसमेत गर्नेछ । त्यसैगरी किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सेवा र वृद्धवृद्धाका लागि परामर्शसमेत यस्ता केन्द्रबाट प्राप्त हुन्छ । सहरका आवश्यकता र नयाँ चुनौतीलाई ध्यानमा राखेर उपचारात्मक र प्रवर्द्धनात्मक सेवा केन्द्रित हुनेछ । केन्द्रबाट अन्य नियमित सेवा खोप, पोषण, बालरोगको एकीकृत व्यवस्थापन, प्रकोप तथा महामारी नियन्त्रणजस्ता सेवा एकीकृत रूपमा प्राप्त हुनेछ ।

खासगरी बढ्दो सहरीकरणसँगै सहरी क्षेत्रमा बढ्दै गएको मुटु, रत्तचाप, मिर्गौला, क्यान्सरजस्ता नसर्ने रोगको भार, सरुवा रोगहरु तथा अन्य स्वास्थ्य समस्याको सुरुमै पहिचान गर्ने, बिरामी भएपछि मात्र नभई सुरुदेखि नै उमेर अनुसार आवश्यक स्वास्थ्य परीक्षण सेवा केन्द्रले प्रदान गर्नेछ । यस्तो सेवा केन्द्र वरिपरिका हरेक नागरिकको स्वास्थ्यसम्बन्धी सम्भाव्य जोखिम पहिल्याउन, दीर्घ रोग लागेका तथा शल्यक्रिया गरेका बिरामीहरुलाई अस्पतालबाट फर्केपछि पनि नियमित रुपमा आवश्यक पर्ने सेवाहरु घरआँगनमै पुगेर प्रदान गर्न यसको अवधारणा भएको थापाले बताए ।
शहरहरूमा खानपिन, प्रदुषण, बसोबासको शैली (जनघनत्व) आदिको कारणले हरेक टोलमा उपस्थित स्वास्थ्य चुनौती र खतराहरूलाई पहिचान गरी तिनको प्राथमिक तहबाट निराकरण गर्नको लागि जनता स्वास्थ्य केन्द्रको अवधारणा प्रभावकारी बन्नसक्ने जनस्वास्थ्य विज्ञ अमित अर्यालले बताए ।
‘अहिलेको समयमा स्वास्थ्य सेवा सबैतिर उपलब्ध छ भनेर मात्र पुग्दैन । त्यो सेवाको गुणस्तरको पनि सुनिश्चितता हुनुपर्छ,’ अर्यालले भने, ‘यसका साथै नागरिकलाई स्वास्थ्य जाँच गर, नियमित औषधि खाउँ भनेर पनि हुँदैन । उसले नियमित स्वास्थ्य जाँच गरेको छ की छैनरु दीर्घ रोग लागेकाले औषधि खाएको छ की छैन भन्ने निगरानी पनि हुनुपर्छ । त्यो काम जनता स्वास्थ्य केन्द्रले गर्नेछ ।’ उनले जनस्वास्थ्यमा आएको नयाँ सोच यसमा प्रतिविम्बित भएको पाएको बताए ।
हाल नेपालमा स्वास्थ्य सेवाको ठुलो खर्च ९५५ प्रतिशत० बिरामीको परिवारको खल्तीबाट हुने गरेको छ। प्राथमिक स्वास्थ्य सेवाको समुदाय केन्द्रित संरचनाले उपचारात्मक सेवामा आवश्यक खर्च र लगानीलाई घटाउन ठुलो मद्दत पुग्ने अर्यालको भनाई छ ।

सुरुवात काठमाडौं र बुढानिलकण्ठबाट
सरकारको योजना अनुसार जनता स्वास्थ्य केन्द्र महानगर, उपमहानगर र नागरपालिकाका हरेक वडामा स्थापना हुने छन् । पहिलो चरणमा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका १२ स्थानमा यस्ता केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाइसकेको छ । यसका लागि सरकारले बजेटको व्यवस्था समेत गरिसकेको छ ।
पहिलो चरणमा काठमाडौंको १० वटा स्थानमा यस्ता केन्द्र स्थापनाका लागि ४ करोड ५० लाख रुपैयाँ र बुढानिलकण्ठ नगरपालिकामा दुई वटा केन्द्र स्थापनाका लागि ८८ लाख रुपैयाँ बजेट बिनियोजन भैसकेको छ । बजेट आयसँगै केन्द्र स्थापनाको काम अगाडि बढिसकेको छ । यहाँ २ जना चिकित्सक सहितको टोलि रहनेछ जसले निशुल्क रुपमा स्वास्थ्य परामर्श, परिक्षण, उपचार लगायतको काम गर्नेछन ।
यसरी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका स्वास्थ्य क्षेत्रको नमूना नगर बन्दैछ । जस अनुरुप काठमाडौं क्षेत्र नं ४ का सवै वडामा जनता स्वास्थ्य केन्द्र स्थापना गर्ने, कपनमा १५ बेडको अस्पताल र बुढानिलकण्ठ नगरपालिकामा ५० बेडको विशेषज्ञ सेवा सहितको नगर अस्पताल सहितको नमुना स्वास्थ्य क्षेत्र बन्नेछ । नगर अस्पताल नेपालकै पहिलो हुनेछ ।

हरेक वडामा केन्द्र, हरेक नागरिकको स्वास्थ्य विवरण

नगरका हरेक वडामा स्थापना हुने यस्ता केन्द्रले वडाका प्रत्येक नागरिकको स्वास्थ्य विवरण राख्ने काम गर्छ । वडाका प्रत्येक नागरिकको रक्तचापदेखि दीर्घरोगसम्मका विवरण कम्प्युटरमा राख्ने काम भएपछि केन्द्रका कर्मचारीले विवरणका आधारमा नागरिकलाई प्रथमिक उपचार, परामर्श लगायतका सेवा दिनेछन् । यहाँसम्मकी प्यारालाइसिस भएका बिरामी तथा शल्यक्रिया गरेर घरमा बसेका बिरामीले नियमित औषधि खाए नखाएको, फिजियोथेरापी गरे/नगरेको, खानपान बार्नुपर्ने भए बारेको वा नबारेको डाक्टरको सल्लाहअनुसार जीवनशैली अपनाएको वा नअपनाएको सबै हेर्ने र त्यसअनुसारको सेवा दिने काम हुन्छ ।
बिरामी नभएका नागरिकको स्वास्थ्य जाँच मात्र होइन बिरामी भएर घरमा सुतेकाको घरमै पुगेर पनि आवश्यक सेवा दिने काम केन्द्रबाट हुनेछ, । जनताको घरदैलोमा पुगेर उनीहरुलाई स्वस्थ राख्न सरकार व्यक्तिको साथी बन्ने प्रयास यो केन्द्रले गर्ने छ ।

यसका साथै केन्द्रले सहरी क्षेत्रको खानपान, प्रदुषण, बसोबासको शैली लगायतका कारणले आफ्नो क्षेत्रमा देखिएका वा देखिनसक्ने स्वास्थ्य चुनौती र खतरालाई पहिचान गरी तीनको प्राथमिक ताहबाट नै निराकरण गर्ने काम पनि गर्ने छ ।
जनता स्वास्थ्य केन्द्रबाट पाइने सेवाहरुः-
नसर्ने रोगको परामर्श, परिक्षण र रोकथाम
प्रयोगशाला र फार्मेसी सेवा
वृद्धवृद्धाका लागि स्वास्थ्य परामर्श
मातृ, परिवार नियोजन सेवा
वातावरणको नियमित अनुगमन
खोप, बालरोग एकीकृत व्यवस्थापन
चोटपटकको उपचार
क्षयरोग, एचाआइभी, मलेरिया उपचार
मानसिक रोग परामर्श
किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य सेवा र परामर्श
प्रकोप तथा महामारी नियन्त्रण सम्बन्धि जानकारी
सरुवा रोगको उपचार
योग साधना
खाद्य तथा पानीको गूणस्तर मापन
वडाको स्वास्थ्य लागत

जनता स्वास्थ्य केन्द्र किन ?
नेपालीको जीवनशैली र जनसंख्याको वितरणमा व्यापक परिवर्तन भएको छ। जनसंख्याको धेरै ठुलो हिस्सा गाउँबाट शहरमा बसाई सरेको छ। परिवर्तित जीवनशैलीको नतिजा स्वरूप नसर्ने रोगहरू अब हाम्रो स्वास्थ्य प्रणालीको प्रमुख चुनौती बनेका छन् । बढ्दो शहरीकरण, अव्यवस्थित जीवनशैली, प्रदुषण आदि कारणले शहरवासीमा उच्च रक्तचाप, मधुमेह लगायत थुप्रै समस्याहरू द्रुततर गतिमा देकीएका छन । जसले गर्दा मुटु, मृगौला, क्यान्सर लगायत नसर्ने रोगको चाप झनै बढ्दो छ। त्यसतै शहरहरूमा ठुला अस्पताल स्थापना गरेरमात्र राज्यको शहरी जनस्वास्थ्य प्रतिको आफ्नो दायित्व पुरा हुँदैन ।
शहरहरूमा खानपिन, प्रदुषण, बसोबासको शैली (जनघनत्व) आदिको कारणले हरेक टोलमा उपस्थित स्वास्थ्य चुनौती र खतराहरूलाई पहिचान गरी तिनको प्राथमिक तहबाट निराकरण गर्नको लागि जनता स्वास्थ्य केन्द्रको अवधारणा अगाडी सारिएको हो।

जनस्वास्थ्य विज्ञका अनुसार नेपालीको जीवनशैलीमा आएको परिवर्तन र सहरी क्षेत्रमा बढ्दै गएको बसाइँसराइका कारण सहरमा आवश्यक प्राथमिक स्वास्थ्य सेवामा राज्यको पर्याप्त ध्यान पुग्न सकेको छैन । सहरमा खुला स्थानको अभाव, प्रदुषण, व्यस्त र तनावपूर्ण जीवनशैलीका कारण नसर्ने दीर्घरोगहरुको भार स्वास्थ्य प्रणालीमा बढ्दै गएको छ ।
जनता स्वास्थ्य केन्द्रको पहिलो उद्धेश्य भनेको रोग लागिसकेपछि भन्दा पनि रोग लाग्नु अगाडि नै तिनको रोकथाम र निदान गर्नु हो । विशेषगरी यसले नसर्ने रोगहरुलाई लक्ष्ति गरी स्वस्थ जीवनशैलीका लागि समुदाय तहमा प्रवद्र्धन गर्ने काम गर्छ ।

नागरिकलाई नियमित स्वास्थ्य जाँचको बानी बसाल्ने र त्यस्तो स्वास्थ्य परीक्षणलाई घरआँगनमै उपलब्ध गराउने केन्द्रको प्रमुख काम हो । परीक्षणका क्रममा रोग तथा समस्याको समयमा नै पहिचान गरी उपयुक्त उपचारका लागि रेफार गर्नुका साथै उपचार गरेर फर्केकाहरुलाई नियमित निगरानी गर्ने काम केन्द्रबाट हुन्छ ।
अहिले हामीकहाँ स्वास्थ्य सेवाको ठुलो खर्च (५५ प्रतिशत) बिरामीको परिवारको खल्तीबाट हुने गरेको छ। प्राथमिक स्वास्थ्य सेवाको समुदाय केन्द्रित संरचनाले उपचारात्मक सेवामा आवश्यक खर्च र लगानीलाई घटाउन ठुलो मदत गर्छ।
पछिल्ला बर्षहरूमा शहरी क्षेत्रमा बढ्दो नसर्ने रोगको चापलाई समेत मध्यनजर गरि जनताले आफ्नो नजिकै स्वास्थ्य केन्द्रवाट स्वास्थ्य परामर्श, नियमित परिक्षण, औषधि उपचार र स्वस्थ जिवनशैली सम्बन्धि जानकारीहरू प्राप्त हुनेछ ।
यसले वडा वासीको लागत राख्छ । कुन उमेर समुहको कति जनसंख्या छ, कुन उमेरमा के के कुरा ध्यान दिनुपर्छ, उमेर अनुसार प्रत्येकले गर्नुपर्ने स्कृनिङ र परिक्षणहरू गर्न अनिवार्य गर्छ र त्यो अनुसारको सेवा पनि दिन्छ। वडाको खाद्य गुणस्तर, पानी गुणस्तर लगायतको अवस्था जाँच गर्छ ।
यसका साथै त्यस क्षेत्रभित्र स्वास्थ्यसंग जोडिएका वातावरणीय सेवा सुविधा सहित खाद्य, पानी जस्ता विषयको निरिक्षण गर्ने, योग तथा शारिरिक व्यायमका कार्यक्रम समेत संचालन हुनेछन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।