चितवन, १० मंसिर०७४/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलवश भएको गल्ती हो भन्नुभएको छ ।
माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आज बिहान माल्यार्पण गर्दै उहाँले बाँदरमुढेका पीडितप्रति आफ्नो सधँै सम्मान रहेको बताउनुभयो । प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बाह्र वर्षअघि सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले थापेको विद्युतीय एम्बुसमा यात्रुवाहक बस परेर सोही ठाउँमा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । सोही घटनाका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा माओवादी आलोचित बनेको थियो । माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आइरहेको ना२ख ३२४५ नंको बसलाई कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा माओवादीले एम्बुसमा पार्दा सो घटना भएको थियो । विसं २०६२ जेठ २३ गते घटना भएको हो ।
घटनापछि पहिलो पटक प्रचण्ड बाँदरमुढे पुग्नुभएको हो । यसअघि १२ वर्षको अवधिमा घटनास्थलमा बनेको स्मारकमा प्रचण्ड जाने कार्यक्रम पटक पटक तय भएको भए पनि मिलेको थिएन । चितवन क्षेत्र नं ३ बाट प्रचण्ड वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । चुनावी प्रचारका लागि माडीको बाँदरझुला जाने क्रममा दाहाल बाँदरमुढे हँुदै जानुभएको हो । आज दिउँसो बाँदरझुलामा घरदैलो र चुनावी सभा हुँदैछ । दाहाल सोमबार दिनभर पनि चुनावी कार्यक्रमअन्तर्गत माडीमा रहने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर माडी जानुपर्ने हुन्छ । कडा सुरक्षाका साथ प्रचण्ड माडी हुँदै बाँदरझुला पुग्नुभएको हो । समय मिलेमा आज दिउँसो ठोरीको सोनापुरसम्म जाने कार्यक्रम रहेको बताइएको छ