काठमाडौं ७ मंसिर०७४/ काठमाडौंकी अञ्दाजी २६/२७ वर्षकी युवती सबिना (नाम परिर्वतन) लाई केही महिनाअघि छालामा एलर्जी भयो । दक्षिणकालीमा रहेका एकजना लामाले यस्तो समस्या झारफुक गरेरै निको पार्छन् भन्ने उनले साथीभाइबाट सुनिन् ।
साथीभाइको विश्वासमा रोग चट्ट निको हुने सम्झिँदै सविना दक्षिणकालीमा ती लामासमक्ष पुगिन् ।दक्षिणकाली-१, चाल्नाखेलमा थियो, टासी छुल्ठिम घोम्बो कासुङ नामक गुम्बा । त्यहाँ उपचार गर्ने तान्त्रिक भनिएका व्यक्ति थिए, रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योञ्जन) ।
तीनदिन झारफुक, चौथो दिनदेखि यौन शोषण
पहिलो दिन ती व्यक्तिले झारफुक गरे । दोस्रो दिन आफूले छुँदै पनि रोग निको हुने भन्दै युवतीलाई छुन खोजे । उनी अलि हच्किइन् ।तेस्रो दिन पनि झारफुक भयो ।‘तान्त्रिक दैविक शक्ति छ भन्ने सुनेर त्यहाँसम्म पुगेकी थिएँ’, ती महिला भन्छिन्, ‘अरुले रोग पूरै निको भएको समेत सुनाएका थिए ।’
तर, चौथो दिन उनले उनी यौन दुराचारीको शिकार बन्न बाध्य भइन् ।
‘त्यो दिन तिमी मेरो पूर्वजन्मको अर्धाङ्गिनी हौं र यो जन्ममा पनि मेरै हौं भनेर ती व्यक्तिले भने’, उनी सम्झिन्छिन्, ‘त्यसरी पूर्वजन्म र अहिलेको जन्मको कुरा गरेर मलाई रनभुल्लमा पार्यो ।’त्यो दिनलाई उनलाई पहिलेको कोठामा लगिएको थिएन । कोही नभएको सुनसान कोठामा थिइन्, उनी । ती तान्त्रिकले उनलाई शारीरिक सम्बन्ध राख्न बाध्य बनाए ।
कसैलाई बताए रोग बल्झिने धम्की !
छुँदै निको हुने भन्दै ती व्यक्तिले युवतीलाई नग्न बनाउन थाले । र, पटक पटक यौन सम्पर्क गरे । कसैलाई सम्पर्क राखेको कुरा भने ठूलो क्षति हुने भन्दै तान्त्रिकले त्रास देखाउँथे ।
‘कसैलाई सुनाउँदा रोग फेरि बल्झिने भन्थ्यो’, पीडित युवती भन्छिन्, ‘रोगको उपचार गराउन मसँगै यौन सम्पर्क राख्नुपर्छ समेत भन्ने गर्थ्यो ।’एक दिन ती युवतीले परिवारसमक्ष समस्या सुनाउन पुगिन् । उनलाई तान्त्रिक भनिएका व्यक्तिको व्यवहार ठीक लागिरहेको थिएन । र, उनले आफन्तलाई यो कुरा सुनाइन् ।
त्यसपछि यो घटना सीआइबीसमक्ष पुग्यो । अहिले सीआइबीले ती तान्त्रिकलाई पक्रेर उनीमाथि अनुसन्धान थालेको छ ।
युवतीहरुलाई भेला पार्न उनले वेवसाइटको समेत प्रयोग गर्दै आएका थिए ।
छालामा एलर्जी, एपीलीप्सी र छारे रोग भएका बिरामीलाई पूरै निको पार्ने भन्दै प्रचार गरिएको भेटिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका डीआइजी पुष्कर कार्की बताउँछन् ।
उनका अनुसार ती व्यक्तिले पुरुषलाई हत्तपत्त गुम्बाभित्र छिर्न नदिने गरेका थिए । थुप्रै महिलाहरु ती धर्मगुरुको शिकार बनेको हुन सक्ने प्रहरीको आशंका छ ।
अनुसन्धानका क्रममा ती व्यक्तिले विवाह भएका महिलालाई ‘पूर्वजन्ममा आफ्नै अर्धाङ्गिनी र अहिले भुलबस अर्कैको भएको’ भन्दै यौन शोषण गर्ने गरेको प्रहरी बताउँछ ।विवाह नभएका युवतीलाई भने ‘अघिल्लो जन्ममा पनि आफ्नै र अहिलेको जन्ममा पनि आफ्नै भएको’ भन्दै यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको भनाइ छ ।अनुसन्धानको क्रममा ती व्यक्तिले विवाह गरेको समेत खुलेको छ । उनले श्रीमतीलाई झापामा राखेर होटल व्यवसाय समेत सञ्चालन गरिरहेको प्रहरीको आशंका छ ।श्रीमतीसहित उनका छोराहरु झापामा रहेको बताइन्छ ।
अनुसन्धानबाट खुलेका कुरा
अन्दाजी १० बर्ष देखी का.जि. दक्षिणकाली न.पा. १ चाल्नाखेल वोशन स्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा संञ्चालन गरी बसेको, सो गुम्बामा महिलाहरूको संख्या धेरै रहेको, उपचार गराउन आएका महिलाहरूलाई उपचारको क्रममा एक्लो कोठामा निर्वष्त्र गराई जवरजस्ती शरिरीक सम्बन्ध राखेको, पिडित महिलाहरूलाई सो कुरा कसैलाई भनेको खण्डमा ठुलो क्षती हुन्छ, पुन रोग बल्झिन्छ, रोगको उपचारको निम्ती निज गुरू संगै यौन सम्पर्क राख्नु पर्छ, गुरू तेतिस कोटी देउताको अवतार भएको, गुरू रिसाएमा अनिस्ठ हूने भनी डर त्रास देखाई भ्रममा पारेको, पिडित महिलाहरूलाई परपुरूष संग विवाह गरेमा तिम्रो मृत्यु समेत हुन्छ भनी त्रस देखाई पिडितहरूलाई बारम्बार यौन सम्पर्क गर्ने गरेको,
अन्य महिलाहरूको सम्बन्धमा अनुसन्धान कार्य भईरहेको ।