0 COMMENTS

बुटवल, ६ मंसिर०७४/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि वाम तालमेल भएको भन्दै भविश्यमा एउटै कम्युनिष्ट केन्द्र बनाएर देश विकास गरिने बताउनुभएको छ ।

उहाँले देशको आवश्यकताले वामपन्थीहरु एक हुनुपर्ने भन्दै अब देशमा स्थायी सरकार बन्ने र विकासका चरणहरु शुरु गरिने बताउनुभयो । वामपन्थी सरकार निर्माण गरेर विकासका नीतिगत उद्देश्यहरु पूरा गरिने उहाँको भनाइ थियो ।

वाम गठबन्धनले आज बुटवलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन पछि छिमेकीसँग हैसियतअनुसारको सम्बन्ध विस्तार गर्दै दीर्घकालीन सोचका साथ बलियो सरकार बन्ने छ भन्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले देशको भविश्यका लागि र सन्तानको भविश्यका लागि वाम गठबन्धनलाई भोट हाल्न मतदातालाई आह्वान गर्दै भन्नुभयो, “देशको समृद्धिको लागि हामीलाई भोट हाल्नुहोस् ।” उहाँले कुनैै बहानामा नेपालमाथि हुने नाकाबन्दी युग सकिएको बताउँदै भारतसँग काँग्रेसले सम्बन्ध बिगारेकै कारण आफू प्रधानमन्त्री हुँदा नाकाबन्दी भएको र चीनसँगको पारवहन सम्झौताले नाकाबन्दीको युग सकिएको स्पष्ट पार्नुभयो ।

विसं २०४६ तिर बुटवलका सडकमा हिँडिरहेको स्मरण गर्दै अध्यक्ष ओलीले जेलनेल खाएका कम्युनिष्ट नेताहरुलाई ‘लोकतान्त्रिक हुँ’ भन्न कसैसँग गुणस्तरको चिह्न लिन जरुरी नभएको बताउनुभयो । अध्यक्ष ओलीले वाम गठबन्धनका रुपन्देहीका उम्मेदवारहरुलाई भोट माग्दै वाम उम्मेदवार यहाँका सक्षम नेताहरु रहेकाले जिताउन आग्रह गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का महासचिव रामबहादुर थापाले अबको लक्ष्य निर्वाचनपश्चात समाजवाद स्थापनाकै लागि वाम एकता आवश्यक रहेको बताउनुभयो । उहाँले समाजवाद स्थापना अन्तिम लक्ष्य रहेको बताउँदै भन्नुभयो, “नेपालमा एउटै कम्युनिष्ट पार्टी निर्माण अपरिहार्य छ, छिट्टै नै यसले मूर्त रुप लिनेछ ।” माओवादी केन्दका नेता वामदेव क्षेत्रीको अध्यक्षतामा भएको आमसभालाई गठबन्धनका उम्मेदवार तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णुप्रसाद पौडेल र रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार घनश्याम भुसाल, माओवादी केन्द्रका नेता तथा रुपन्देही क्षेत्र नं ५ का उम्मेदवार डिलाराम आचार्यलगायतले सम्बोधन गर्दै समृद्ध मुलुक निर्माणका लागि वाम उम्मेदवारलाई भोट दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।