0 COMMENTS

काठमाडौं,४ मंसिर०७४/प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनविरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका नेता–कार्यकर्तालाई नियन्त्रणमा लिन भन्दै सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयले आयोजना गरेको प्रदेश नम्बर–३ को सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृह मन्त्रालयसमेत सम्हालेका उनले मतदातालाई निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिए ।

‘जनतालाई सुरक्षाको प्रत्याभूति दिने काम गृह मन्त्रालयको हो’ भन्दै उनले जनताको सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिए ।उनले सुरक्षाकर्मीलाई ‘चेन अफ कमान्ड’अनुसार चल्न निर्देशन दिए ।

पछिल्लो समयमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै सुरक्षा रणनीति बनाएर अगाडि बढ्न सुरक्षाका चारओटै निकायलाई उनले निर्देशन दिए ।‘मतदाताले सुरक्षाको अनुभूति गर्न पाउनुपर्छ’ भन्दै उनले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई तत्काल प्रभावकारी काम गर्न निर्देशन दिए ।

गृह मन्त्रालयले सोमबार राजधानीमा आयोजना गरेको गोष्ठीमा बढ्दो सुरक्षा चुनौतीबारे सुरक्षा निकायका अधिकारीहरुबीच रणनीतिक छलफल हुनेछ ।

गोष्ठीमा देशका विभिन्न ठाउँमा भएका विस्फोटका घटना र क्षतिकाबारेमा समीक्षा गर्ने र रोक्ने उपायबारे छलफल हुनेछ ।

गोष्ठीमा प्रदेश नम्बर–३ का प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।