तिम्राझैँ भ्रमको खेती गर्दै
म हिँड्न सक्दिनँ ।
दम्भले मुठ्ठी उठाउँदै
हड्डीका हबेलीमाथि
मुस्काउन सक्दिनँ ।
रगत लत्पतिएका हातहरूले
परेवा समाउँदै
शान्तिको गीत गाउन सक्दिनँ ।
म त वेदनाले छिटै पग्लिन्छु
तिमीले झैँ
लासहरूका संख्या गन्दै
पराक्रमी – जीवनवृत्त- लेख्न सक्दिनँ ।
बलि र अझ
नरबलि दिने राजाहरूलाई
तिमी उदार बलिराजाहरूलाई झैँ
गुरू मान्छौ
म मेरो माटामा उम्रिएका
कोमल फूलहरू
तिनका पाउमा चढाउन सक्दिनँ ।
कलम उठाउन सक्छु
बन्दुक उठाउन सक्दिनँ ।
चकजस्तै घोटिने म
कालोपाटीलाई कालो भन्दै
फुटाउन सक्दिनँ ।
अँहँ ! आँखा घोच्न सक्दिनँ !
म किताब र कापी च्यात्न सक्दिनँ ।
मठमन्दिरका पाला ढाल्न सक्दिनँ ।
बमगोलाहरू बोक्न सक्दिनँ ।
म
आँसुलाई
पानीझैँ सस्तो ठान्न सक्दिनँ ।
म
रगतका तालहरूमा
पौडिन सक्दिनँ ।
तिमीले
मानव र मानवबस्तीलाई
भेडाका बथान र गोठहरूमा
हेरेझैँ
म
कदापि हेर्न सक्दिनँ ।
तिमी
चार पाउले दौडिरहेका छौ
म
दुई पाउले हिँडिरहेको छु
तिम्रो र मेरो
यात्राको प्रकृति नै फरक छ ।
तिम्रो यस्तो गतिलाई
म प्रगति त
कदापि भन्न सक्दिनँ
एउटै गन्तव्य त
झनै असम्भव !
काँधमा काँध मिलाउँदै
अँहँ ! म तिमीसित
कदापि हिड्न सक्दिनँ !
कदापि हिँड्न सक्दिनँ !!
(जंगल- कवितासंग्रह- २०७२ बाट साभार )