0 COMMENTS

काठमाडौँ, २८ कात्तिक०७४/  नेपाल मलेसियामा जारी एसिसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए को उपविजेता बन्दै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि बंगलादेश समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन् । समूह विजेता बनेको बंगलादेशको ६ अंक र उपविजेता बनेको नेपालको ४ अंक रह्यो ।

यो समूहमा रहेका भारत २ अंकसहित तेस्रो स्थान र मलेसिया अंकविहीन अन्तिम स्थानमा रह्यो ।प्रतियोगिताको अघिल्लो संस्करणको विजेता भारत आज बंगलादेशसँगको हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।

नेपाली टोली इतिहासमै पहिलो पटक एसिया कपको दोस्रो चरणमा पुगेको हो । प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालले समूह चरण पार गर्न सकेको थिएन ।

समूहको अन्तिम खेलमा नेपालले आज बिहान मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।

क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य नेपालले ५.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि अनिलकुमार साहले २६ रन बनाए । उनले १५ बल खेल्दै तीन छक्का र एक चौका प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले तीन बल खेल्दै दुई छक्का प्रहार गरी १२ रन बनाए । आशिफ शेखले चार तथा भीम सार्कीले अविजित तीन रन बनाए ।

बलिङतर्फ मलेसियाका विजय उन्नीले दुई विकेट लिए ।

यसअघि वर्षाका कारण निर्धारित ५० ओभरको खेललाई २४ ओभरमा घटाइएको थियो । मलेसियालाई न्यून स्कोरमा सीमित गर्ने क्रममा नेपालका सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र शहाब आलमले दुई÷दुई तथा अनिल शाहले एक विकेट लिए ।

मलेसियाका लागि यइद अजिज मुबारकले २० रन तथा कप्तान विरनदीप सिंहले १० रन बनाए ।

त्यसैगरी, नेपालले आइतबार भारतलाई १९ रनले पराजित गरेको थियो ।

नेपालले सेमिफाइलनलको दोस्रो खेल आगामी शुक्रबार ग्रुप बी का विजेता अफगानिस्तानसँग खेल्नेछ । पहिलोमा बंगलादेश र पाकिस्तान बिहीबार खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।