0 COMMENTS

काठमाडौं, २६ कार्तिक २०७४ / प्रतिनिधिसभाको मंसिर २१ मा हुने निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको प्रतिस्पर्धीका रूपमा उभिएका छन्, वन्यजन्तु विषयमा विद्यावारिधि गरेका उपप्राध्यापक खगेन्द्र अधिकारी ।

अधिकारी १७ वर्षे अध्यापन पेसा छाडेर झापा ५ मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका हुन् । कांग्रेस महासमिति सदस्य रहेका उनी ‘हेभिवेट’ सँग किन भिड्न आए ? भन्छन्, ‘म बौद्धिक व्यक्ति हुँ, राजनीतिमा लागेर धेरै गर्न सकिन्छ भनेर एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्न आएको हुँ ।’

उता ओलीले निर्वाचनमा सहभागी हुँदैमा प्रतिस्पर्धी नहुने तर्क गरे । ‘चुनावमा सहभागी हुँदैमा कोही प्रतिस्पर्धी हुँदैन,’ उनले शुक्रबार दमकस्थित आफ्नो निवासमा कान्तिपुरसँग भने, ‘चुनावमा सहभागी हुनुभयो, स्वागत छ तर मेरो प्रतिस्पर्धी कोही छैन ।’ उनले कांग्रेस उम्मेदवारलाई आफूले नचिन्ने भन्दै ‘एक जना माडसाप’ चुनावमा आएको आफूले सुनेको बताए ।

कांग्रेस उम्मेदवार अधिकारीले भने ओलीसँग प्रतिस्पर्धा गर्न कुनै अप्ठ्यारो महसुस नगरेको बताए । ‘ओलीसँग डराउनुपर्ने कारण के छ ?’ उनले भने, ‘मलाई जनताको डर छ, कुरा बुझाउन सक्छु कि सक्दिनँ भन्ने ।’ उनले यस क्षेत्रलाई अघि बढाउने क्षमता आफूमा रहेको दाबीसमेत गरे । २०७० को संविधानसभा निर्वाचनमा माओवादी नेता गोपाल किरातीलाई पराजित गरेका ओली यसपटक आफैंमा बलिया उम्मेदवार हुन् । उनलाई माओवादी र राप्रपाले समर्थन गरेको छ । लामो समय प्राध्यापन पेसामा रहेका अधिकारी एक्लै चुनावी मैदानमा छन् । ओली कहिलकाहीं आफ्नो निर्वाचन क्षेत्रमा आउँछन् । नेता, कार्यकर्ता, मतदाता उनलाई भेट्न उनको निवास जान्छन् । अधिकारीचाहिँ अहिलेदेखि नै घरदैलो गरिरहेका छन्, प्रचारप्रसार बढाएका छन् ।

‘अग्रगमनका लागि गठबन्धन’

शुक्रबार बेलुका ओली निवासमा नेता तथा कार्यकर्ताको भीडबीच उनले कान्तिपुरसँग निर्वाचन तालमेलबारे भने, ‘राष्ट्रिय एकता, अग्रगमन, शान्ति र आर्थिक समृद्धिका लागि गठबन्धन बनाएका हौं ।’ उनले विगतका आधारमा माओवादीसँग तालमेल नगरेको उल्लेख गर्दै वर्तमान र भविष्यका लागि तालमेल गरेको बताए । ‘आज र भोलिका लागि भएको सहमति हो,’ ओलीको भनाइ छ, ‘विगतमा प्रचण्डजी अर्कै सोच र नीतिमा हुनुहुन्थ्यो ।’

वामपन्थी तालमेलबारे केही शंका भएपनि एमाले र माओवादीबीच पार्टी एकता भइसकेपछि ती मेटिने दाबी ओलीले गरे । तपार्इं–प्रचण्डबीच पद बाँडफाँटबारे गोप्य सहमति भएको हो भन्ने प्रश्न उनले अस्वीकार गरे, ‘केपी ओलीले पद र जिम्मेवारी लेनदेन गर्दैन । देशलाई कसरी अघि बढाउने, स्थिरता कसरी बढाउने कुरा गर्छ । प्रचण्ड र मेराबीच सहमति भएको छैन । देशका लागि म चकटी, भुइँमा बस्न तयार छु ।’

‘वैधानिक सत्ताकब्जा हो ?’

एमाले र माओवादी गठबन्धनले निर्वाचनबाट बहुमत ल्याएर सत्ताकब्जा गरे त्यो लोकतन्त्र हुने दाबी ओलीले गरे । ‘माओवादी एक्लैले पनि जनताको विश्वास जितेर दुई तिहाइ ल्यायो भने त्यो लोकतन्त्र हो,’ उनले भने, ‘कांग्रेस समाप्त भयो भने पनि त्यो लोकतन्त्र हो । एमालेले भोट पाएन भने पनि त्यो लोकतन्त्र हो । कब्जा गरेर होइन, लुटेर होइन, किनेर होइन । जनताको अभिमत जितेर हुने हो ।’

उनले एमाले–माओवादी मिलेर ‘अधिनायकवादी’ व्यवस्था ल्याउन लागेको भन्ने कांग्रेसको आरोपको खण्डन गरे । ‘हामीले नेपालमा आवश्यकताअनुसार संसदीय व्यवस्था ल्याएका हौं । हामी संविधान कार्यान्वयनमा लागेका छौं,’ उनले भने, ‘मैले राष्ट्रपतीय प्रणालीमा जान्छ भनें, त्यो लोकतान्त्रिक प्रणाली हुँदैन भन्दिनँ । अमेरिकामा राष्ट्रपतीय प्रणाली हो । प्रणाली आ–आफ्ना हुन्छन् । हाल हामीले देश र जनताका लागि प्रणाली अपनाएका हौं ।’

उनले संविधान सबै मिलेर लेखेको हुनाले अधिनायकवादीको आरोप खण्डन गरे । ‘लोकतान्त्रिक प्रणाली हामीले ल्याएको हो । कपाल यत्तिकै फुलेको होइन । यो संविधान हामीले लेखेको हो,’ उनको आक्रोश थियो, ‘कुनै प्रतिक्रियावादी, दक्षिणपन्थी जनविरोधी शक्तिले लेखेको होइन । कुनै दक्षिणपन्थी शक्ति न्यायाधीश होइन, अरूले बयान लिने, मैले बयान दिने, उसले प्रश्न गर्ने, मैले सफाइ दिनुपर्ने ?’

‘प्रधानमन्त्री हुन सक्छु’

ओलीले घुमाउरो भाषामा निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार हुनसक्ने संकेत गरे । ‘जनता के भन्छन्, त्यही काम गर्छु । म निर्वाचनमा उम्मेदवार भएको छु,’ उनले भने, ‘मैले गृहमन्त्री, परराष्ट्रमन्त्री भएर देखाएको छु, प्रधानमन्त्री भएर काम गरेर देखाएको छु । मैले के गर्नुपर्छ मेरो कुरा हो । पार्टीको कुरा हो । यो तालमेलसँग सम्बन्धित पक्ष हो ।’

उनले निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने दाबी गरे । ‘सरकार निर्माणमा कसैको शंका छ र अब ? राम्रो मत, राम्रो सिट आउँछ,’ उनले भने ।

दाहालप्रति विश्वास

हाल एमालेसँग गठबन्धन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सहकार्य कति लामो जाला भन्ने प्रश्नमा उनले दाहालप्रति विश्वास बढेको बताए । ‘उहाँ (दाहाल) को विश्वास, अनुभव र परिस्थितिको आवश्यकताबाट पैदा भएको मेरो विश्वास हो । उहाँले अनुभवबाट परिणाम हेर्नुभएको छ,’ उनले घुमाउरो भाषामा सच्चिएको बताए, ‘जनताका मनोभावना सुन्नुभएको छ, देख्नुभएको छ । उहाँका अनुभव परिस्थितिको आवश्यकता हो तालमेल र विश्वास ।’

‘कांग्रेससँग सहकार्य हुनसक्छ’

ओलीले कांग्रेसले गलत आरोप लगाएको भन्दै आक्रोश मात्र पोखेनन्, भावी नीति र कार्यक्रमबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग बहस गर्न तयार रहेको चुनौती दिए । ‘म प्रधानमन्त्रीसँग आगामी दिनका नीति निर्माणबारे बहस गर्न तयार छु,’ उनले भने, ‘राजनीतिक अस्थिरताको अन्त्य गर्न चाहन्छु । त्यसका लागि मेरो संघर्ष हो ।’

उनले कांग्रेससित सहकार्य गर्ने चाहना भए पनि व्यवहार गलत भएको आरोप लगाए । ‘कांग्रेससित सहकार्य भए हुन्थ्यो, सहकार्य गर्न पाए हुन्थ्यो,’ उनले भने, ‘आधारभूत रूपमा सहकार्य गरेका छौं, एउटै प्रणालीमा निर्वाचनमा भाग लिइरहेका छौं । प्रतिस्पर्धा छ ।’ निर्वाचनमा कांग्रेससँग केही स्थानमा मात्र प्रतिस्पर्धा भएको भन्दै कमजोर भएको बताए । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।