0 COMMENTS

जनकपुरधाम, २० कात्तिक ०७४/ कात्तिक २२ गते बुधबार जनकपुरधाममा हुन गइरहेको कोटी पार्थिव शिवलिङ्ग पूजन महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।

विश्वमै पहिलोपटक एकै दिनमा एक करोड पार्थिव शिव पूजाको कीर्तिकायम गर्न सो महायज्ञमा देश र विदेशका लाखौं दर्शनार्थी आउने विश्वास गरिएको छ ।
प्राकृतिक विपद्बाट रक्षा, सुख, शान्ति, कल्याण र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले जनकपुधामको बाह्र बिगा(रंगभूमि मैदान) मा आायोजना गरिएको सो महायज्ञमा एक करोडभन्दा बढी पार्थिव शिवलिङ्गको पूजा गरिनेछ ।
मानस तथा बोलबम परिवारद्वारा आयोजना गरिएको सो महायज्ञ सन्दर्भमा बाह्र बिगाहा मैदानमा ध्वजा स्थापना, दुई लाख वर्गफिटको पण्डाल निर्माण कार्य सम्पन्न भइसकेको छ ।
संस्थाका अध्यक्ष ललन ठाकुरका अनुसार शिव पूजाका लागि भारतको सिमरियाबाट एक ट्यांकर गंगा जल ल्याइएको छ भने दुई ट्रक पूmलको व्यवस्थापन पनि भइसकेको छ ।
पार्थिव शिवलिङ्ग बनाउन नेपाल र भारतका विभिन्न स्थानबाट आस्थावानको आउने क्रम पनि शुरु भइसकेको जनाइएको छ । एक हजार एक सय बाह्मणद्वारा पूजा हुने सो महायज्ञमा नेपाल र भारतका विभिन्न स्थानबाट आएका आठ हजार श्रद्धालुले पार्थिव शिवलिङ्ग बनाउने र पण्डितले एकै चोटी एकै समयमा वैदिक विधानअनुसार शिव पूजा गर्ने बताइएको छ ।
मूल व्यवस्थापन समितिका अध्यक्ष डा अभयकान्त मिश्रले १४ वर्ष अघि जनकपुरधामको रत्नसागर मन्दिरमा लाख महादेवको पूजा गर्ने बेलामा नै एक करोड महादेवको पूजा गराउने संकल्प लिएको र सो संकल्पलाई सार्थक बनाउन व्यापक रूपमा आस्थावानको सहयोगले एकै दिनमै महायज्ञ सम्पन्न गर्न लागेको बताउनुभयो ।
राजा जनकले छोरी सीताको विवाहका लागि स्वयम्बरको आयोजना बाह्र बिगामै गराउनुभएको र स्वयम्बरमा शिव धनुष नै राखिएकाले जनकपुरधामको सोही स्थलमा शिव पूजाको संकल्प गरिएको पनि उहाँले स्पष्ट गर्नुभयो ।
बोलबम परिवारका अध्यक्ष ठाकुरले पार्थिव शिवलिङ्ग बनाउन पण्डालमा समूहगत रूपमा व्यवस्थापन गरिएको र सोका लागि चाहिने माटो जनकपुरधामकै प्रयोग गरिने, २१ क्विन्टल अक्षत, आठ क्विन्टल तील, चार क्विन्टल जौ र चार क्विन्टल घिउको व्यवस्थासमेत भइसकेको छ भन्नुभयो ।
त्यस्तै महायज्ञको अवसरमा कात्तिक २१ शोभायात्रा र दीप उत्सव गर्ने कार्यक्रमसमेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।