0 COMMENTS

भीमदत्तनगर, १९ कात्तिक ०७४/ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कञ्चनपुरका विभिन्न राजनीतिक दल बागी उम्मेदवार फकाउन सक्रिए भएका छन् ।

कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएपछि जिल्ला र केन्द्रीयस्तरका नेता वागी उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै छलफललाई अन्तिम टुंगोमा पु¥याइरहेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)नेत्री विनामगरले उम्मेदवारी दिनुभएको छ ।

उक्त क्षेत्रमा माओवादीकै रुपादेवी विष्ट र मीरादेवी शाहीले प्रतिनिधि सभामा वागी उम्मेदवारी दिनुभएको छ भने निर्वाचन क्षेत्र नं १ को ‘ख’ मा प्रदेश सभाका लागि नेपाली काँग्रेसका नरसिंह विष्ट र नेकपा (एमाले)का राजेन्द्रप्रसाद जोशीले दाबी उम्मेदवारी निर्वाचन कार्यालयमा दर्ता गराउनुभएको छ । ती सबै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको वाम गठबन्धनका नेताहरुको भनाइ छ ।

त्यसैगरी यहाँको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभामा काँग्रेसका बागी उम्मेदवार सिद्धराज भट्टले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुभएको छ । उहाँसँगै सो निर्वाचन क्षेत्रको प्रदेश सभाका अन्य तीन जना काँग्रेसका कार्यकर्ताले समेत बागी उम्मेदवारी फिर्ता लिन निवेदन दिइसकेका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा निर्वाचन क्षेत्र नं १ को (क) का बलराम पन्त, प्रदेशसभा ‘ख’ मा मदनराज भट्ट र तुलाराम साहुले उम्मेदवारी फिर्ता लिन निवेदन दिनुभएको छ । नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका नेता भट्टले काँग्रेसका उम्मेदवार पूर्वमन्त्री तथा पार्टी केन्द्रीय सदस्य नारायणप्रकाश साउदविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

त्यसैगरी यहाँको निर्वाचन क्षेत्र नंं ३ प्रतिनिधि सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकविरुद्ध उहाँकै पार्टीका पुराना नेता प्रेमबहादुर विष्टले बागी उम्मेदवारी दिनुभएको छ । नेता विष्टलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गर्दै दुई नेताबीच छलफल चलिरहेको नेपाली काँग्रेस कञ्चनपुरले जनाएको छ ।

निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधि सभामा वाम गठबन्धनका उम्मेदवारविरुद्ध नेकपा (एमाले)का हीरासिंह विष्टलेसमेत बागी उम्मेदवारी दिनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका विष्टलाई समेत एमालेले फिर्ता गराउन कसरत गरिरहेको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नंं ३ (क) मा नेकपा (एमाले)का जिल्ला कमिटी सदस्य कर्णबहादुर चन्दले समेत वागी उम्मेदवारी दिनुभएको छ । वाम गठबन्धनबाट बागी उम्मेदवारी दिएकालाई फिर्ता लिन एमाले र माओवादी नेता छलफल गरिरहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता, १ः०० देखि ३ः०० बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन र आज बेलुका नै उम्मेदवारलाई चुनाव चिह्न दिने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।