काठमाडौँ, १९ कात्तिक ०७४/ काठमाडौँ शहरलाई ८५ प्रतिशत धुम्रपानरहित बनाइने भएको छ । नसर्ने रोग खासगरी मुटु रोग, क्यान्सर, स्टोक, मानसिक रोग, मधुमेह, मिर्गौला खराबलगायतका रोगले मानिसको मृत्युदर बढ्न थालेपछि त्यसको मुख्य कारण सूर्तीजन्य पदार्थको प्रयोग दर घटाउन यस्तो कार्यक्रम ल्याउन लागेको हो ।
विश्व स्वास्थ्य संगठनका सद्भावना राजदूत मिचेल आर ब्लोमवर्गको सहयोगमा जनस्वास्थ्य कार्यालय काठमाडौँ शहरलाई अभियान शुरु गर्न लागेको हो । उहाँले भन्नुभयो, “यतिबेला कार्यक्रम शुरु गरिसक्नुपर्ने थियो तर निर्वाचन आचारसंहित लागू भएपछि नयाँ कार्यक्रम गर्न नसकिएको हो, अन्य तयारी भने गरिसकेका छौँ ।”
गत वर्ष संसारका १२आैँ धनी व्यक्ति अमेरिकाको न्युर्योक शहरका तथा पूर्वप्रमुख मिचेल आर ब्लोमवर्गलाई संगठनले नसर्ने रोग र इन्जुरी नियन्त्रणका लागि सद्भावना राजदूत नियुक्ति गरेको थियो । उहाँले नै संसारका ५० शहरलाई स्वस्थ शहर बनाउने घोषणा गर्नुभएको थियो ।
संगठनले विश्वका इच्छुक शहरलाई स्वस्थ शहर बनाउन १० वटा क्षेत्रमध्ये कुनै एक क्षेत्र छनौट निवेदन माग गरेको थियो ।
जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले संगठनले आफूहरुले दिएको काठमाडौँ महानगरलाई धुम्रपानरहित बनाउने क्षेत्र रोजी निवेदन दिएकामा काठमाडौँ शहर पनि छनोट भएको बताउनुभयो ।
एक वर्षमा काठमाडौँ शहर ८५ प्रतिशत धुम्रपानरहित बनाउने तथा त्यसको अनुगमन महानगरीय प्रहरीले गर्ने बताइएको छ । त्यसको प्रगति प्रतिवेदन काठमाडौँ महानगरपालिकाका प्रमुखले आगामी अक्टोबरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा प्रस्तुत गर्ने प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले त्यसका लागि रु एक करोडको सम्झौता भइसकेको र क्रमबद्ध रुपमा रकम आउने क्रममा रु २५ लाख तुरुन्तै आउने जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १६ लाख मानिसको नसर्ने रोगका कारण ७० वर्ष अगाडि नै मृत्यु हुने गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पनि नसर्ने रोगबाट हुने मृत्युदर ६० प्रतिशतभन्दा बढी छ । त्यसका लागि क्याफे, होटल रेस्टुराँलगायतका सबै सरोकारवालासँग पनि छलफल गरी जनचेतना, अभिमुखीकरण कार्यक्रम गर्ने बताइएको छ । छानिएका ५० शहरमध्ये १४ शहर एसियाका परेका छन् ।
निवेदन दिने शहरले सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रण, पोषण, स्वस्थ खाना, सडक सुरक्षा, मादक सेवनरहित सवारी, सवारी चलाउँदा हेलमेटको प्रयोग, शहरमा पदमार्ग, साइकल, बाइकको व्यवस्थापन, वायु प्रदूषण नियन्त्रण, नसर्ने रोगबारे अभियान र अनुगमनबारे कुनै एक विषयमा काम गर्ने प्रतिवेदनसहित निवेदन दिएका थिए ।