0 COMMENTS

इनरुवा, १६ कात्तिक ०७४/ अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज बिहान रासससँग कुराकानी गर्नुहुँदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।

मन्त्री कार्कीले लोकतन्त्रलाई समाप्त पार्नका लागि विभिन्न राजनीतिक दलहरु लागिपरेकाले अब सबै प्रजातान्त्रिक शक्ति मिलेर त्यसलाई परास्त गर्नका लागि एक ढिक्क भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री कार्कीले सबै प्रजातान्त्रिक शक्ति एक भएर लागे सुनसरीका प्रतिनिधि सभातर्फ चार सिट र प्रदेश सभातर्फ आठ सिट गरी जम्मा १२ सिटमा नेपाली काँग्रेसको जित निश्चित रहेको दाबी गर्नुभयो । उहाँले काँग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउनुहुँदै यसको रक्षा गर्नका लागि सबैले एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री कार्कीले वाम गठबन्धनले देशमा कम्युनिष्ट तानाशाह ल्याउन खोजेको समेत दाबी गर्नुभयो । उहाँ प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्षमा उम्मेदवारी दिनका लागि सुनसरी आउनुभएको हो ।

फरक प्रसंगमा बोल्नुहँुदै मन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर ४ को विकासका लागि आफू अहोरात्र काम गर्ने बताउनुभएको छ । उहाँले आफू भोजपुरबासी भएपनि अबको आफ्नो बाँकी राजनीतिक जीवन सुनसरीका लागि खर्च गर्नेसमेत उद्घोष गर्नुभयो ।

सुनसरीको क्षेत्र नम्बर ४ विकासको हिसाबले निकै पछाडि रहेका कारण अब त्यहाँको विकास गर्ने जिम्मा आफ्नो काँधमा आएको बताउनुभयो । मन्त्री कार्कीले उक्त क्षेत्रका समस्याको पहिचान आफूले गरिसकेका कारण त्यसको समाधानका लागि काम गर्ने समेत बताउनुभयो ।

मन्त्री कार्कीले सो क्षेत्रमा रहेको सडक समस्या, सिँचाइ, बन्यजन्तु आरक्षलगायतको समस्याको पहिचान गरिसकेका कारण त्यसलाई समाधान गर्नका लागि आफूले मन्त्रालयबाट विशेष कार्यक्रम ल्याउनेसमेत दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।