काठमाण्डाै१५कार्तिक०७४/ वाम गठबन्धनले सप्तरीको दुई÷दुई वटा प्रतिनिधिसभाका लागि सिट बाँडफाँड गर्दा एमालेका जिल्ला युवा नेताले असन्तुष्टि जनाउँदै मंगलबारदेखि आमरण अनशन बसेका छन् ।
दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमाले बलियो पार्टी भएको क्षेत्रमा माओवादी केन्द्रलाई उम्मेदवारी दिएको भन्दै जिल्ला सदस्य दुर्गानन्द ठाकुर, अखिलेश झा, सलिम राइन मियाँ र अनेरास्ववियुका जिल्ला अध्यक्ष ललित रजकसहितले अनशन थालेका छन् ।
राजविराजस्थित नेकपा (एमाले)को जिल्ला पार्टी कार्यालयमा अनशन बसेका उनीहरुले एमाले सप्तरी र प्रदेश कमिटीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि सर्वसम्मतरुपले सिफारिस पठाएको केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सुमनराज प्याकुरेलले उम्मेदवारी पाउनुपर्ने माग गरेका छन् ।
एमाले केन्द्रीय सदस्य प्याकुरेल क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहनुभएको थियो । तर यो क्षेत्रमा वाम गठबन्धनले माओवादी केन्द्रका अशोककुमार मण्डल (अमर)लाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मण्डल यसअघि दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । एमालेका युवा नेताले भने प्याकुरेललाई यस क्षेत्रमा नदिइएकाले बाध्य भएर आफूहरु भोक हडतालमा बस्नुपरेको बताएका छन् ।राजविराजस्थित एमालेको पार्टी कार्यालयमा भोक हडताल बसेका उनीहरुले प्याकुरेललाई टिकट नदिएसम्म अनसन बसिरहने बताए ।