0 COMMENTS

खोटाङ, १० कात्तिक ०७४/ आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बन्नुभएका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहनुभएको छ ।

गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लाग्नुभएका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्ना कार्यकर्ता खटाएर रायो, मूला र केराउको बीउ बाँड्न लगाउनुभएको हो ।

तरकारीको बीउ लिएर जनताको घरदैलोमा पुगेका कार्यकर्ताले राईको चुनावी घोषणापत्रसमेत बाँड्ने गरेका छन् । बीउ र घोषणापत्र सँगै प्याकिङ गरिएको प्लाष्टिकको पोकोमा ‘मदन राई को हो ?’ शीर्षकको राईको जीवनीसमेत राखिएको छ ।

झण्डै महिना दिनअघिदेखि चुनावी प्रचारमा लाग्नुभएका राईले आचारसंहिताविपरीत जनतालाई प्रलोभनमा पार्न तरकारीको बीउ वितरण गरेको अन्य दलले आरोप लगाएका छन् ।

जिल्लाबाट प्रतिनिधिसभाका लागि नयाँ शक्तिका उम्मेदवार राईसँगै विभिन्न राजनीतिक दलका १० जनाको उम्मेदवारी परेको छ । कृषि क्षेत्रको विज्ञ मानिनुभएका राईले भने भोटका लागि नभई जिल्लावासीलाई तरकारीमा आत्मनिर्भर बनाउन बीउ वितरण गर्न लगाएको प्रतिक्रिया दिनुभएको छ ।

साकेला गाउँपालिका–२ रतन्छा निवासी राईले वितरण गर्न लगाउनुभएको तरकारीको बीउको प्याकेटमा करिब ५०–६० दाना केराउ, १५०–१६० दाना मूला र करिब २०० को हाराहारीमा रायोको बीउ हुनेगरेको छ । चुनावी अभियानमा जनताको घरमा जाँदा खाली हात जानुभन्दा थोरै भए पनि कोसेलीस्वरुप तरकारीको बीउ लिएर जाने गरिएको अभियानमा खटिनुभएका सूर्यबहादुर राईले बताउनुभयो ।

कृषि क्षेत्रमा विज्ञता हासिल गर्नुभएका राईले तरकारीको बीउ वितरण गर्न लगाउनु कुनै ठूलो विषय नभएको कतिपयको प्रतिक्रिया छ भने, कतिपयले सामाजिक सञ्जालबाटै चर्को विरोध गर्ने गरेका छन् । अहिले उम्मेदवार बन्नुभएका राईले जिल्लामा पहिलोपटक व्यावसायिकरुपमा तरकारी खेती गर्न सकिन्छ भन्ने ज्ञान दिनुभएको जिल्लाका अगुवा कृषक बताउँछन् ।

भर्खरै नयाँ शक्ति नेपालको राजनीतिमा छिर्नुभएका राईलाई जिल्लावासीले उति महत्वका साथ भने हेरेका छैनन् । जिल्लाबाट प्रतिनिधिसभाका लागि १० जनाको उम्मेदवारी परे पनि वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले)का विशाल भट्टराई र नेपाली काँग्रेसकातर्फबाट उम्मेदवार बन्नुभएकी सरस्वती बजिमयबीच प्रतिस्पर्धा हुने जिल्लावासीको अनुमान छ ।

वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका भट्टराईलाई नेकपा (माओवादी केन्द्र) लगायत साना कम्युनिष्ट दलले सघाउने देखिन्छ । काँग्रेसबाट उम्मेदवार बन्नुभएकी बजिमयलाई राप्रपाले सघाउने स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।