काठमाडौं ५कार्तिक०७४/ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सहमहामन्त्री एवं स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा आलामलाई एमालेमा स्वागत गरेका हुन् ।कांग्रेसका प्रभावशाली नेता शेख इन्द्रिसका नाती आलम रौतहटमा प्रभावशाली नेता मानिन्छन् । उनले आफ्नै मामा फर्मुल्ला मन्सुरलाई भारी मतले पराजित गरेका थिए । गच्छद्धार कांग्रेस प्रवेश गरेपछि सहमहामन्त्री आलमले एमाले रोजेका हुन् ।एमालेमा प्रवेश गर्दै उनले भने ‘एमाले मात्रै मधेशको हितमा काम गर्ने पार्टी हो भन्ने ब्यवहारबाटै पुष्टि भइसकेको छ, यही कारण मैले एमाले रोजेको हो,’ प्रवेशपछि आलमले भने, ‘केपी ओली र एमाले मधेशको सच्चा हित चिताउने र बिकाशको अभियान चलाउने पार्टी र नेता हो भन्नेमा अव मधेशमा कुनै भ्रम छैन ।’आलमलाई अध्यक्ष ओलीसहित उपाध्यक्ष बामदेव गौतम, पोलिटब्युरो सदस्य बिष्णु रिमाल र डा. राजन भट्टराईले पनि स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्