0 COMMENTS

हराएर प्रकृतिमा
डुबुल्कि मार्दै,
अघि बढिरहँदा
सगरमाथाले सोध्यो—
“कता भौँतारिएको ?”
म अवाक् रहें,
कसरी थाहा पायो
सगरमाथाले म भौँतारिएको ।
भनें —
“यसै डुल्न निस्किएको,
तिमीलाई कस्तो छ ?”
आँखामा बलिन्द्रधारा
आँसु लिएर,
आर्तनाद् गर्यो उसले—
“तिमी भाग्यमानी छौ,
मन लागेको ठाउँ जान्छौ,
प्रतिकार गर्न सक्छौ शत्रुको,
जोगाउन सक्छौ आफ्नो स्वाभिमान,
र बँचाउन सक्छौ आमाको अस्मिता ।
तर हेर त मेरो हबिगत,
जडित छु यहीं,
युगौंदेखि र हुनेछु युगौंसम्म,
विश्वलाई हेर्दै टुलुटुलु ।
कयौं लात्ती बज्रिन्छन्,
मेरो छातीमा,
र शीरमा रोपिन्छन्,
अनगिन्ती लाठीहरू ।
मेरै आँखा सामु
बुद्ध जन्मिए,
तर अपशोच,
म सुनिरहेछु आज
बुद्ध नेपाली होइनन्,
उनी नेपालमा जन्मेका होइनन्
म चाहेर पनि बताउन सक्दिनँ
न त उभिन सक्छु प्रतिकारमा ।
हेर ! हाम्रो अस्मिता,

हामीले बँचाउनु पर्छ,
गोर्खालीको प्रतिष्ठा
हामीले जोगाउनु पर्छ ।
जाऊ सुनाइदेऊ विश्वलाई
छाती पिटी—पिटी
भनिदेऊ ती शकुनीहरूलाई
“बुद्ध नेपालमा जन्मेका हुन् ”
म साक्षी बस्न तयार छु,
गीता, कुरान, बाइबल
छोई कसम खान सक्छु
र भन्न सक्छु
“बुद्ध नेपालमा जन्मेका हुन्”
जाऊ निश्चिन्त भई जाऊ,
भौंतारिनु पर्दैन ।
आमा तिम्रो प्रतीक्षामा छिन्,
उनको हेरचाह गर ।
म छु तिमीसँग ।”

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।