0 COMMENTS

बलेको स्वर्गको आगो चोरी ल्यायो धरातिर

मायावी जाल तोडेर नाघ्यो  निर्विघ्न सागर ।

 

लगाई ताजको बाजी महाराणा बनी उठ्यो

शाहजहाँ बिलौनामा प्रेमको छाल भै छुट्यो ।

 

आधा आकाश धाँजामा कुंजिनी र सुलोचना

देखेर मन भो आगो पोखियो तप्त वेदना ।

 

बाघले खान लागेको बच्चा देखेर  गर्जियो

राजा ! कलम भाचूँ कि भन्दै आदेश पर्खियो ।

 

निरंकुश फणा फैली निल्न खोज्थ्यो स्वतन्त्रता

कोर्रा हान्यो उसैमाथि मान्दै मानेन दासता ।

 

मुना सहरमै मैली, भोटको  लेकमा उता

पायो मदनले साथी साँच्चैको दिलदेवता ।

 

तपस्वी उसका निम्ति थियो प्यारो तपोवन

शकुन्तला कला बोक्ने चरा चिर्बिर कानन ।

 

सभ्य संसार रच्नैमा बोक्यो विद्युत लेखनी

भावव्यञ्जन ती लाग्छन् जादुका दिव्यमोहनी ।

 

सफा आकाश गंगा ऊ रस झर्झरमा झ~यो

विचार बीज रोपेर आलोक लोकमा भ~यो ।

 

भाववैभवको स्रष्टा सिङ्गै संसार एक छ

विमान मनको चढ्दै तारा केस्रा केलाउँछ ।

 

बुटी पाई कुटी हाँस्छन् धन्य ! धन्य ! वसुन्धरा

छैन कोही कहाँ भन्छन् ? रूप फुल्छन् गरा गरा ।

 

वन कुसुमका माला श्रद्धाले म चढाउँछु

भाषा संसारका सामु उसैलाई  म पाउँछु ।

 

दृढ शैल शिरैमाथि हिम बोकेर  हाँस्दछ

शीतैको याम होस् घाम ताप कहाँ बिलाउँछ ?

 

सत्कर्म किन रित्तिन्थ्यो प्राण संसारको बल

बल्छ जीवनको ज्योति सधैँ झल्मल झल्मल ।

 

दम्भी अट्टालिका गल्दै झर्छन् अकाल गर्तमा

वीणाकै स्वर गुन्जन्छन् सधैँ  रात प्रभातमा ।

 

सिङ्गाे ब्रम्हाण्डकै चित्र खिच्छ समाज दर्पण

दीपका खोजमा हुन्छ दीपैसामु समर्पण ।

 

शब्दको जग हालेर भाव सोपानमा चढी

धर्तीमा कवि फर्कन्छन् नभको चन्द्रमा चुमी ।

 

कालिदास कला यस्तै व्यास-वाल्मीकिका कला

लेखनीमा कति जादु ! छवि –छाया थलाथला ।

 

अलंकृत बनेको छ माटो यै भावले छुँदा

वसुधामा सुधा भर्छन् स्रष्टाका दिल सर्वदा !!

(छन्द :अनुष्टुप्) (सपनामा हराएको बिपना -कवितासंग्रह -२०६६ बाट साभार )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।