0 COMMENTS

काठमाडौं १कार्तीक०७४/ पछिल्लो समय राजनीतिक ध्रुविकरण बढेको छ । ठूला कम्युनिष्ट पार्टीहरुबीच वामगठवन्धन बनेसँगै अर्को ठूलो दल नेपाली कांग्रेसले पनि अन्य पार्टीहरुलाई मिलाएर लोकतान्त्रिक गठवन्धन निर्माणको क्रममा छ । त्यस्तै साना पार्टीहरुले पनि विचार र सिद्धान्त मिल्ने पार्टीहरुबीच एकता तथा गठवन्धन गर्नेक्रम बढेको छ । केही साना पार्टीहरु ठूला पार्टीमा विलय भइसकेका छन् ।

पार्टीहरु एकता र गठवन्धन बन्ने क्रमसँगै २१ वटा साना पार्टीहरुले पनि मोर्चा बनाएका छन् । अरु पार्टीहरुले निर्वाचन जित्नका लागि गठवन्धन बनाएपनि यो २१ दलीय गठवन्धनले भने निर्वाचन वहिस्कार, सम्वैधानिक राजसंस्था, हिन्दु अधिराज्य पुनस्र्थापना र अखण्ड नेपालको माग गर्दै जनविद्रोहको तयारी गरेको छ । त्यसका लागि हिन्दु प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष विष्णुकुमार प्रसाईको संयोजकत्वमा राष्ट्रिय जनविद्रोह समिति बनाएका छन् । सो समितिमा २१ दल सामेल भएका छन् । अन्य केही दलसँग पनि वार्ता र छलफल चलिरहेको बताइएको छ । २१ दलीय गठवन्धनको जनविद्रोह समितिमा हिन्दु प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल राष्ट्रवादीवादी पार्टी, राष्ट्रवादी युवा मोर्चा, राष्ट्रवादी एकता पार्टी, जन्मभूमि स्वाभिमान पार्टी, मितेरी पार्टी नेपाल, हाम्रो नेपाल पार्टी, नेपाल मातृभूमि पार्टी, नेपाल शान्ति क्षेत्र परिषद्, समाजवादी पार्टी नेपाल, राष्ट्रिय समाज सुधार संस्था, लोक कल्याणकारी प्रजातान्त्रिक पार्टी, वहुजाति समावेशी पार्टीलगायत छन् ।

यो २१ दलीय जदविद्रोह समितिले राजधानीमा पत्रकार सम्मेलन गरेर राजनीतिका नाममा भइरहेको विकृति, विसंगति र भ्रष्टाचार लगायतको भण्डाफोर गर्ने चेतावनी दिएको छ । ठूला दलहरु विदेशी स्वार्थअनुसार परिचालित हुँदा राष्ट्रिय अस्तित्व नै धरापमा पर्ने स्थिति देखिएको भन्दै यो गठवन्धनले जनविद्रोह गरेर त्यसको भण्डाफोर गर्ने जनाएको छ । विदेशीको इशारामा बनेको संविधान मुलुक र जनताको हितमा नभएको जनाउँदै समितिले यस्तो संविधान कार्यान्वयनका लागि भइरहेको केन्द्र र प्रदेशको निर्वाचन वहिस्कार गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ “मुलुक इतिहासकै सबैभन्दा जर्जर स्थितिमा पुगेको छ । भ्रष्टाचारी, कमशिनोर, ठग, अपराधी, राष्ट्रघातीलाई सम्मान र सुरक्षा दिई देशभक्तहरुको अपमान, दमन सँगसँगै हत्या, आतंकमा राज्य स्वयं उत्रिएको छ । घण्टाघण्टामा निजी स्वार्थमा मन्त्रीहरु थपिन्छन् । राष्ट्रिय महत्वका पदहरुमा पैसा लिएर अपराधीहरुलाई नियुक्ति गरिन्छ । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको नाममा विदेशीहरुको स्वार्थपूर्ति गर्न देशको स्वाधिनता खोस्ने प्रयास भइरहेको यहाँहरुमा विदितै छ । नेपालको राष्ट्रियता, नेपालको राष्ट्रिय सनातन धर्म, परम्परा, धर्म र संस्कृति समाप्त पारेर पोप र पादरीको आतंक स्थापित गराउने काम गरिँदैछ । कथित ठूला दलका नेता भनाउँदाहरुले स्वदेश भित्रै देशभक्तहरुलाई शरणार्थी बन्न वाध्य पारेका छन् । जातीय, क्षेत्रीय विद्वैष फैलाइएको छ । नागरिकहरु को कति बेला मारिन्छन् भन्ने भय र त्रास मुलुकभर व्याप्त छ । गरिव झन् गरिब बनाइदैछ, कथित गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको वकालत गर्नेहरु रातारात अर्वपति भएका छन् । विदेशीहरुको जुठो खाएर मोटाएका वर्तमान कथित ठूला राजनीतिक दल र तिनीहरुको दलालहरुले देशको राष्ट्रिय अस्मितामाथि घात गरि देशको स्वाधिनता नै खतरामा पार्ने प्रयास भइरहेको सन्दर्भमा मुलुक वचाउन सम्वैधानिक राजसंस्था, अखण्ड नेपाल र वैदिक सनातन हिन्दू अधिराज्य पुनस्र्थापनाका लागि राष्ट्रिय जनविद्रोहको शुरुवात गर्न लागिएको हो । मंसिर १० र २१ गते हुने भनिएको पादरी जनविरोधी संविधान अन्तर्गत हुने निर्वाचन वहिस्कार गरेका छौ साथै हाम्रा जनविद्रोहका कार्यक्रमरु केही दिन भित्रमा सार्वजनिक गर्नेछौं ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।