0 COMMENTS

 काठमाडौं २९असाेज०७४/ संविधानअनुसार शनिबार व्यवस्थापिका संसद्को म्याद सकिएको छ। संसदको म्याद सकिएसँगै संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिरमा हुँदै छ।

मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोग र राजनीतिक दलहरू तीव्र तयारीमा जुटेका छन्। दलहरूले आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आइतबार (असोज २९ गते) समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली आयोगमा बुझाइसक्नुपर्नेछ। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मनोनयन कात्तिक ५ गते आयोगमा दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ। पछिल्लो समय नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएसँगै कुन क्षेत्र कुन पार्टीले लैजाला भन्ने चासो पनि छ। वाम तालमेलले चुनावी निर्वाचन क्षेत्र बाँडफाँडका लागि बनेको उच्चस्तरीय कार्यदलले गृहकार्य पनि गर्दै आएको छ।

कार्यदलले निर्वाचन क्षेत्र निर्धारणको निर्णय भने गरिसकेको छैन। तर एमालेले आफ्नो क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवारहरूको सिफारिस भने गरिसकेको छ। मुलुकको राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गरिसकेको एमाले काठमाडौंका उपसचिव सरिता न्यौपानेले जानकारी दिइन्।

उनका अनुसार एमालेले काठमाडौंका ४ वटा क्षेत्रबाहेक बाँकी क्षेत्रमा सर्वसम्मत रूपमा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ। यी हुन् एमालेले सिफारिस गरेका उम्मेदवारहरू:

क्षेत्र नम्बर १ यस क्षेत्रमा एमाले काठमाडौं जिल्ला समितिले एक जना उम्मेदवार मात्र प्रत्यक्षतर्फ सिफारिस गरेको छ। एमाले काठमाडौंको बैठकले एमाले केन्द्रीय सदस्य सावित्रा भुसालको नाम यस क्षेत्रबाट सिफारिस गरेको हो।

क्षेत्र नम्बर २ एमालेले काठमाडौं क्षेत्र नम्बर २ मा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नाम सिफारिस गरेको छ। यसअघि पनि सोही क्षेत्रबाट चुनाव जितेका नेता नेपालको नाम एमालेले सर्वसम्मतिले सिफारिस गरेको हो।

क्षेत्र नम्बर ३ काठमाडौं एमालेले काठमाडौं क्षेत्र नम्बर ३ मा कृष्ण राईको नाम सिफारिस गरेको छ। यस क्षेत्रबाट एमाले काठमाडौंका अध्यक्षसमेत रहेका राईको मात्र नाम बैठकले सिफारिस गरेको हो।

क्षेत्र नम्बर ४ एमालेका चर्चित युवा नेता राजन भट्टराई काठमाडौं क्षेत्र नम्बर ४ बाट सिफारिसमा परेका छन्। उनलाई एमालेले सर्वसम्मत रूपमा सिफारिस गरेको हो।

क्षेत्र नम्बर ५ निर्वाचनका लागि एमाले महासचिव ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट सिफारिस भएका छन्। नेता पोखरेल सर्वसम्मत रूपमा यस क्षेत्रबाट सिफारिस भएका हुन्।

क्षेत्र नम्बर ६ एमालेले काठमाडौं क्षेत्र नम्बर ६ मा भने उम्मेदवारहरू सर्वसम्मत रूपमा सिफारिस गर्न सकेको छैन। आकांक्षीहरूको संख्या धेरै भएपछि एमाले काठमाडौंले प्रदेश कमिटीका सदस्य योगेन्द्र संग्रौलालगायत छ जनाको नाम सिफारिस गरेको छ।

क्षेत्र नम्बर ७ काठमाडौं क्षेत्र नम्बर ७ बाट नेता रामवीर मानन्धर प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस भएका छन्। एमाले केन्द्रीय सदस्यसमेत रहेका मानन्धर सर्वसम्मत रूपमा सिफारिस भएका हुन्।

क्षेत्र नम्बर ८ यस क्षेत्रमा पनि एमालेले सर्वसम्मत रूपमा प्रत्यक्ष उम्मेदवार छनोट गरेको छ। काठमाडौं क्षेत्र नम्बर ८ बाट एमाले केन्द्रीय सदस्य जीवनराम श्रेष्ठको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो।

क्षेत्र नम्बर ९ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रत्यक्ष उम्मेदवारमा सिफारिस भएकी छन। यसै क्षेत्रबाट केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठको नामसमेत सिफारिस भएकाले उपाध्यक्ष शाक्य भने सर्वसम्मत हुन सकिनन्।

क्षेत्र नम्बर १० एमालेले काठमाडौं क्षेत्र नम्बर १० बाट पनि सर्वसम्मत उम्मेदवार छनोट गर्न सकेको छैन। यस क्षेत्रबाट केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर र कीर्तिपुरका पूर्व मेयर रत्न महर्जन, पूर्व सांसद् विनोद श्रेष्ठको नाम एमालेले सिफारिस गरेको छ।

चार क्षेत्रमा माओवादी केन्द्रको दाबी एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि माओवादी केन्द्रले काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये कसले कुन-कुन क्षेत्र लैजाने भन्ने विषयमा कार्यदलभित्र छलफल चलिरहेको छ। बाँकी एमालेलाई छाडेर माओवादीले काठमाडौंको निर्वाचन क्षेत्र १, ६, ८ र १० निर्वाचन क्षेत्र माग गर्दै आएको छ। यसै विषयमा एमालेभित्र अहिले छलफल भइरहेको तर निर्णयमा पुग्न नसकेको एमालेका एक नेताले बताए। खासगरी १ र १० नम्बर क्षेत्र माओवादीलाई दिन एमाले तयार भए पनि ६ र ८ निर्वाचन क्षेत्रका विषयमा भने कुरा मिल्न नसकेको ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।