काठमाडौं२७ असोज०७४ /दोलखाको दुर्गम किर्नेटार गाउँमा उत्पादन गरेर संसारभरि किनबेच गरिन्थ्यो प्रतिबन्धित विद्युतीय मुद्रासंसारमा सबैभन्दा जटिल प्रविधिमा आधारित, सबैभन्दा महँगो र विकसित देशहरूमा बढी प्रचलनमा रहेको विद्युतीय मुद्रा बिटक्वाइनको उत्पादन पनि विकसित देशमै हुने अनुमान अधिकांशको हुन्छ । तर, नेपालमा प्रतिबन्धित बिटक्वाइनको उत्पादन दोलखाको दुर्गम गाउँ किर्नेटारमा हुने गरेको खुलेको छ । बिटक्वाइनको कारोबार गर्दै आएका प्रशान्तप्रताप शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत् आयोजनाको पावरहाउसनजिकै बिटक्वाइन उत्पादनसमेत गर्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्ता लगाएको छ ।
शाहलाई गत साता बिटक्वाइन र अन्य विद्युतीय मुद्राको उत्पादन र कारोबार गरेको आरोपमा सिआइबीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनले स्थानीय भीमबहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिएर बिटक्वाइनको माइनिङ (उत्पादन) गर्दै आएका थिए । बिहीबार सिआइबीले त्यहाँ छापा मारेर उपकरणहरू नियन्त्रणमा लिएको छ । शाहसँगै अन्य सातजनालाई पनि अनुसन्धानका लागि हिरासतमा राखिएको छ । काठमाडौंको भाटभटेनी घर भएका शाहले अमेरिकाबाट इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङ गरेका छन् । उनी गत वर्ष मात्र नेपाल फर्किएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।
हङकङबाट उपकरण आयात
शाहले बिटक्वाइनको माइनिङ गर्न हङकङबाट उपकरण आयात गरेका थिए । गत फागुनमा उनले थाई एयरवेजको विमानबाट थाइल्यान्ड हुँदै नेपालमा सामग्री भित्र्याएका हुन् । उनले ल्याएका उपकरणको कार्टनमामा हङकङमा ती मासान खरिद गरिएको र बैंकक हुँदै काठमाडौं ल्याइएको उल्लेख छ । उनले बिटक्वाइन माइनिङ गर्ने बिटमेन एन्टमाइनर, पावर सप्लाईलगायत १ करोडभन्दा बढी मूल्यका उपकरण भित्र्याएका थिए । उनले करिब १ वर्षअघि नै उपकरण आयात गरेको अनुमान प्रहरीले गरेको छ ।
बुबा सन्दीप शाहले मिलाइदिएका थिए कोठा
प्रशान्तप्रतापलाई उनका बुबा सन्दीप शाहले दोलखाको किर्नेटारमा कोठा मिलाइदिएका थिए । बिटक्वाइन माइनिङमा ठूलो मात्रामा विद्युत् चाहिने भएकाले स्थानीय जनतालाई दिन बनाइएको आयोजनाको विद्युत् दिलाउन पनि उनले भूमिका खेलेका थिए । सन्दीप केही समयअघि मात्रै खिम्ती आयोजना बनाउने हिमाल पावर लिमिटेडको प्रमुखबाट निवृत्त भएका हुन् ।
बिटक्वाइन छाप्न २६ मेसिन
– बिहीबार सिआइबीको टोलीले किर्नेटारस्थित शाहको कोठाबाट बिटक्वाइन माइनिङ गर्न प्रयोग हुने २६ थान बिटमेन एन्टमाइनर बरामद गरेको छ । यो बिटक्वाइन माइनिङ गर्ने प्रमुख उपकरण हो । त्यस्तै, बिटम्यान पावर सप्लाई १५, इन्टरनेट राउटर १, टेलिफोन सेट १, इन्टरनेट नेटवर्क भिडियो रेकर्डर १, एचपी ल्यापटप एक, नेटवर्क स्विच, पावर सप्लाई बोर्ड, फायर एक्सटिङगुइसर र हाइभोल्टेज पावर सप्लाई तार एक–एक थान र इन्टरनेट केबल २५ वटा बरामद गरेर काठमाडौं ल्याएको छ ।
– बिटक्वाइनको माइनिङ भइरहेको अवस्थामा ती सामग्री नियन्त्रणमा लिइएको सिआइबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए । प्रचलित ऐनको बर्खिलाप हुने गरी शाहले उपकरण आयात गरी बिटक्वाइन उत्पादन गरेकाले उनीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सिआइबीले जनाएको छ ।
डेढ करोड लगानीको अनुमान
बिटक्वाइन उत्पादन गर्ने उपकरणहरूको मूल्य अन्तर्राष्ट्रिय बजारमा निकै उच्च छ । बिटमेन एन्टमाइनरको मूल्य मात्रै ३६ सय डलरसम्म छ । त्यस हिसाबले शाहले प्रयोग गरेका २६ वटा एन्टमाइनरको मूल्य करिब ९८ लाख २८ हजार पर्छ । त्यस्तै, बिटमेनकै पावर सप्लाईको मूल्य अन्तर्राष्ट्रिय बजारमा ७ सय डलरसम्म पर्छ । त्यस हिसाबले प्रहरीले गरेको बरामद गरेको पावर सप्लाईको मूल्य करिब ११ लाख हुन आउँछ । बिटक्वाइन माइनिङमा प्रयोग हुने अन्य उपकरण पनि प्रहरीले बरामद गरेको छ । यी उपकरणहरू शाहले हङकङबाट आयात गरेको प्रहरीले बताएको छ । ती सबै वस्तुको मूल्य र ढुवानी भाडासमेत हिसाब गर्दा बिटक्वाइन माइनिङ कारखाना खोल्न शाहले करिब डेढ करोड लगानी गरेको अनुमान छ ।
यसरी उत्पादन हुन्छ बिटक्वाइन
बिटक्वाइन माइनिङ जटिल सूत्रहरू प्रयोग गरी कम्प्युटरबाट गरिने काम हो । संसारको जुनसुकै स्थानबाट पनि यसको उत्पादन गर्न सकिन्छ । बिटक्वाइन माइन गर्न एउटा विशेष प्रोग्राम (सफ्टवेर र हार्डवेयर दुवै) सहितको कम्प्युटर आवश्यक पर्छ । यो एउटा विकेन्द्रित उत्पादन भएकाले संसारका धेरै मानिसले एकैपटक बिटक्वाइन माइन गर्न चाहन्छन् । उनीहरूले एकैपटक जटिल गणितीय सूत्रको समाधान खोज्छन् । हरेक १० सेकेन्डमा एउटा त्यस्तो समस्या समाधान (ब्लक)को प्रयास गर्छन्, जुन कारोबारका डाटाका रूपमा कम्प्युटर सफ्टवेयरको खातामा अभिलेख हुन्छ । यस्तो कार्यलाई क्रिप्टोग्राफिक ह्यास फङ्सन भनिन्छ । यसरी हुने कारोबारको शृंखलालाई ब्लकचेन भनिन्छ । हरेक १० सेकेन्डमा हुने त्यस्तो कारोबारबाट एउटा युनिक कोड निस्कन्छ, जुन संसारभरिका कम्प्युटरप्रणालीबाट निस्कने कोडसँग मिल्दैन । बिटक्वाइन माइन गर्न चाहनेमध्ये एकपटकमा एकजनाले मात्रै त्यो कोडको ब्लक पाउँछ र त्यो कोड अन्य माइनरहरुले स्वीकृत गरेपछि मात्रै त्यो मान्य हुन्छ । खासमा त्यही युनिक कोड नै बिटक्वाइन हो, जुन अनलाइन वालेटमा स्टोर हुन्छ ।
पहिलापहिला सामान्य कम्प्युटरको सिपियुबाटै बिटक्वाइन माइन गर्न मिल्थ्यो । तर, बिटक्वाइनको मूल्य नै यो माइन गर्दा लागेको खर्चका आधारमा तय हुने हुँदा अब सिपियुबाट यो माइन गर्न मिल्दैन । बिटक्वाइनको भाउ बढ्दै जाँदा जिपियु माइनिङ, एफपिजीए माइनिङ, एएसआईसी माइनिङ, क्लाउड माइनिङ, पुल माइनिङलगायतका पद्दति विकास भएको छन् । जति धेरै विटक्वाइन माइनिङ हुँदै जाँदा यो माइनिङको सूत्र र उपकरणका लागि चाहिने खर्च पनि बढ्दै जान्छ । त्यस्तै, बिटक्वाइनको माइनिङ बढ्दै जाँदा माइन हुन लाग्ने समय पनि बढ्दै जान्छ । त्यसैले जति धेरै उपकरण राख्यो त्यति धेरै बिटक्वाइन चाँडै प्राप्त गर्ने सम्भावना हुन्छ । त्यसैले प्रशान्तप्रताप शाहले २६ वटा सिस्टम राखेका हुन् । संसारमा २ करोड १० लाख बिटक्वाइन मात्रै माइनिङ गर्न मिल्छ । त्यसमध्ये दुई तिहाइ माइन भइसकेको अनुमान छ ।
थ्री फेजको लाइन, ६ महिनामा २४ हजार युनिट विद्युत् खपत
– शाहले बिटक्वाइनको माइनिङ गर्न दोलखाको झाँक्रेखोला आयोजनाबाट उत्पादन भएको विद्युत् प्रयोग गरेका थिए । झाँक्रेखोला लघु जलविद्युत् खिम्ती आयोजनाले स्थानीय प्रभावित जनतालाई विद्युतीकरणका लागि स्थापना गरिदिएको हो । यो खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको मातहत रहेको छ । सो आयोजनाबाट ६३० किलोवाट विद्युत् उत्पादन भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युत्मध्ये सबैभन्दा धेरै प्रशान्तप्रताप शाहले नै प्रयोग गरेको सहकारीका अध्यक्ष नारायणध्वज खड्काले बताए ।
– शाहले बिटक्वाइन माइनिङ गर्न पर्याप्त विद्युत् आपूर्ति होस् भनेर थ्री फेजको लाइन लिएका थिए । बिटक्वाइनको माइनिङ हुनका लागि निरन्तर विद्युत् आपूर्ति हुनुपर्ने र उच्च गतिको इन्टरनेट आवश्यकता पर्छ । थ्री फेजको लाइन नेपालमा सामान्यतया ठूला उद्योग, भवन आदिले लिन्छन् । गत चैतदेखि माइनिङ सुरु गरेका शाहले हालसम्म २४ हजार युनिट बिजुली खपत गरेको अध्यक्ष खड्काले बताए । उनीसँग साँझको पिक समयमा ८ रुपैयाँ र दिउँसो र रातिको समयमा ५ रुपैयाँ प्रतियुनिट विद्युत् महसुल लिइएको उनले बताए । शाहले सहकारीलाई विद्युत् महसुलबापत १ लाख ४७ हजार रुपैयाँ तिर्न बाँकी रहेको खड्काले बताए ।