0 COMMENTS

इटहरी, २७ असोज ०७४/ धार्मिक जागरणका माध्यमबाट मुलुकलाई जोड्नुपर्ने संदेशसहित पैदलयात्रामा निस्किएका नेपालका प्रथम जगतगुरु बालसन्त ५९औँ जिल्लाको यात्रा तय गरी विहिबार सुनसरी जिल्लाको दुहवीमा आइपुग्नुभएको छ ।

धार्मिक जागरणका लागि निस्किएका जगतगुरु बालसन्तले नेपालमा रहेका धार्मिक, पौराणिक र पुरातात्विक महत्व बोकेका नदी तथा तीर्थस्थललाई समेत विश्वमा चिनाउने उद्देश्य रहेकाले आफूले हिन्दू राज्य नेपालको पैदलयात्रा गरेको बताउनुभयो ।

उहाँले नेपालबाट वर्षेनी भक्तजन भारतका विभिन्न ठाउँमा तीर्थयात्रामा गएर खर्च गरिरहेको समयमा नेपालकै तीर्थस्थलमा जानेक्रम बढेसँगै नेपाली पैसा बाहिरिने क्रम रोक्न धार्मिक अभियान थालेको समेत स्पष्ट पार्नुभएको छ ।

महाकालीबाट २०७२ वैशाख ५ गतेदेखि पैदलयात्रामा निक्लनुभएका बालसन्त मोहनशरण देवाचार्यले पूर्वमा मोरङ जिल्लासम्मको यात्रा पूरा गरिसक्नुभएको छ ।

जगतगुरुले ६० औँ जिल्लाका रुपमा सुनसरीबाट पुनः पैदलयात्रा शुरु गर्नुभएको हो । जगतगुरु बालसन्त मोहनशरणले आफ्नो धार्मिक यात्राका क्रममा मोरङ जिल्लाको यात्रा पूरा गरी ६० औँ जिल्लाका रुपमा सुनसरी आइपुग्दा सुनसरी जिल्लाका धर्मप्रेमी भक्तजनले भव्यरुपमा स्वागत गरेका थिए ।

जगतगुरुबाट पुनः पैदलयात्रा शुरु गर्न लागेको अवसरमा विहिबार दुहवीमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रदेश नम्बर १ का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पशुपतिप्रसाद उपाध्याय, दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारलगायतले पैदलयात्राको सफलताको शुभकामना दिनुभएको थियो ।

पैदलयात्राका क्रममा महाकालीमा बनाइन लागिएको अष्टधातुको ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउन तामा, पित्तलसहित सहयोग संकलन गर्ने कामसमेत गरिँदै आएको छ । नेपाल आमाको मूर्ति निर्माणका लागि आफूसंँग भएका तामा, पित्तल र रकमसमेत दिएर भक्तजनले सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।