0 COMMENTS

काठमाडौँ, १८असोज०७४/ सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनस्टि पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र,  नयाँशक्तिबीच आज भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट काँग्रेसले आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेसका शीर्ष तथा प्रभावशाली केन्द्रीय सदस्यहरूको आज बसेको बैठकले कम्युनिस्ट पार्टीहरूबीच आज भएको एकताको कदमलाई अस्वभाविकरुपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

कम्युनिस्ट पार्टीहरूबीचको एकताले निर्वाचनलाई असर पर्न सक्ने आशंका व्यक्त गर्दै उहाँले भन्नुभयो, “निर्वाचन यही सरकारले गराउँछ ।”सत्तामा रहेको माओवादी केन्द्रले लिएको कदमलाई नेता निधिले गम्भीर एतिहासिक राजनीतिक भुल भएको बताउनुभयो । यस कदमले माओवादीलाई राजनीतिकरुपमा ठूलो क्षति हुने उहाँको भनाइ छ ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री देउवाले सरकारमा सँगै छौँ, चुनावमा तालमेल गर्न पनि तयार छौँ भन्नुभएको नेता निधिले जानकारी दिनुभयो ।

यसैबीच आजै दिउँसो ३ बजे पनि अध्यक्ष दाहालले पुनः प्रधानमन्त्री देउवालाई भेट्नुभएको थियो । सो भेटमा अध्यक्ष दाहालले एमालेसँग चुनावी तालमेल गर्ने, आफ्नौ चुनाव चिन्हमा चुनाव लड्ने, कम्युनिस्ट पार्टीबीचको एकतालाई पहल गर्ने र निर्वाचनसम्म यही सरकारमा रहने आफ्नो पार्टीको निर्णय सुनाएर बाहिरिनुभएको थियो ।

प्रचण्डको सो निर्णय सुनेपछि प्रधानमन्त्री देउवालगायत शीर्ष नेताहरूले सरकारमा सँगै रहने, तर चुनावमा अरु दलसँग चुनावी तालमेल गर्ने निर्णयलाई अस्वभाविक भएको टिप्पणी गर्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, पूर्णबहादुर खडका, डा रामशरण महत, नेता निधि, डा मिनेन्द्र रिजाल, महेश आचार्य, ज्ञानेन्द्र बहादुर कार्की, डा प्रकाशरण महतलगायत उपस्थित हुनुहुन्थ्यो ।

पछिल्लो राजनीतिक परिस्थितिका बारेमा प्रधानमन्त्री देउवाले आजै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, नेपाल लोकतान्त्रिक फोरमकाका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गर्नुभएको छ भने भोलि बिहान राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलगायतसँग परामर्श गर्नुहुनेछ ।

“आज भएको बाम चुनावी तालमेलले नेपालको लोकतन्त्र र राष्ट्रवादी शक्तिहरूलाई एकातिर गम्भीर चुनौती थपिएको छ भने अर्कोतिर एक ठाउँमा उभिने अवसर पनि मिलेको छ” नेता निधिले भन्नुभयो ।काँग्रेसले परिवर्तित राजनीतिक विषयमा छलफल गर्न भोलि केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।