दोलखा, १६ असोज०७४/ प्रसिद्ध दोलखा भीमेश्वरमा आज क्षमापूजा गरिएको छ । करिब एक साताअघि भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै आज क्षमापूजा गरिएको हो ।
राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्रीसहितले आज दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो । भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ । सोहीअनुसार राष्ट्रपति कार्यालयबाट पठाएको पूजासामग्रीसहितले आज भीमेश्वरमा क्षमापूजा गरिएको हो ।
पसिना पुछिएको कपास ‘महाप्रसाद’ ग्रहण गर्दै राष्ट्रपतिले मुलुकमा कुनै संकट नआओस् भन्ने कामना गर्नुभएको थियो । सोही कामनासहित दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो । क्षमापूजाका क्रममा १३ जना पण्डितबाट लघुरुद्री गरिएको छ । सरकारका तर्फबाट जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्की, जनप्रतिनिधिका तर्फबाट भीमेश्वर नगरपालिकाका–२ का अध्यक्ष विराज श्रेष्ठले लघुरुद्रीको संकल्प गर्नुभएको हो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापा र रणभीम गणका गणपति झवीन्द्रबहादुर रेश्मीको समेत सहभागिता थियो । लघुरुद्री गरिसकेपछि बलिपूजा गरिन्छ । सरकारका तर्फबाट र स्थानीयवासीको तर्फबाट दुई÷दुईवटा बोका बलि दिनुपर्ने प्रचलनअनुसार बलिपूजा गरिएको छ । बाजागाजासहित बलिपूजा गरेपछि उपस्थित सबैलाई प्रसाद बाँडिन्छ र क्षमापूजा समापन हुन्छ । क्षमापूजा समापनपछि आजै सो पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने भीमेश्वर–२ का वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।