दशै तिहार आयो भन्दै ,
म बसेको शहरबाट ,
ह्वार ह्वार्ती मान्छे भागेको देख्ता ,
लाग्छ मेरो शहर संग ,
दशै साच्चै रिसाएछ ।
साथी सङ्गी सबैले छोडेर जादा ,
कोठामै गुम्सिएर ,
चकमन्न एक्लै ,
आफै भित्र हराउने बानी परेको ,
मेरो शहरले , लाग्छ ,
आफ्नो सातो ,
यतै कतै हराएछ ।
बेढङ्गी छ मेरो शहर ,
उसले दशैलाइ बोलाउनै जान्दैन ।
दशै तिहारको स्वागतार्थ ,
आत्मियताको रातो कार्पेट ,
घरको ढोका अगाडी सजाउन ,
किन हो उ मान्दैन ।
अल्छी मेरो शहर ,
रातो माटो र कमेरोले ,
घर चिरिच्याटै पारेर ,
दशैलाइ हसाउन उ ,
किन हो जान्दै जान्दैन ।
घात प्रतिघात ,
अनि नाफा र नोक्सानको ब्यापारमा ,
अभ्यस्त मेरो शहर ,
आफ्नै घरमा खुसी फुलाउन ,
सयपत्री र मखमली फुल ,
घर आगनमा रोप्न पनि ,
किन किन उ मान्दैन ।
गाउँ घरको जस्तो ,
खुसी हसाउने ,
जुवाको खालमा ,
कौडा खेलाउन पनि ,
उ जान्दैन ।
स्वार्थको कुहिरो भित्र ,
निस्सासिएको मेरो बाक्लो शहर ,
गाउको पातलो बस्तीमा ,
दशैमा मान्छे रमाएको देखेर ,
उ भित्र भित्रै तडपिन्छ ।
अचम्म लाग्छ ,
लिपस्टिक र टाइमा सजिएर ,
खोक्रो मेरो शहर ,
किन किन फेरि ,
आफू भित्रै गम्किन्छ ।
मेरो शहर प्रत्यक दशैमा ,
शहरमा छ्याप छ्याप्ती खुलेका ,
दोहोरी साझमा ,
अर्धनग्न नर्तकी हरुले ,
नशामा नाच्दै अनि गाउदै ,
पस्केको खुसी ,
नशामै ,
सुटुक्क गोजीमा हालेरै रमाउछ ।
फरक यति हो ,
शहर बाट भागेर ,
गाउँ पुगेको दशैको खुसी ,
भन्ज्याङ र चौतारी हरुमा ,
अनि खलियान र फाटहरुमा ,
आत्मियताको तालमा ,
हर्षको गीत गाउदै ,
आनन्दको मिठो बिहानीमा ,
बिन्दास भएर ,
बिन्दास मै हराउछ ।
म देख्तै छु ,
झोला भरी बोकेको दशैको खुसी ,
गाउँ घरमै रित्याएर ,
फेरि फर्किने बाचा गर्दै ,
धेरैले शहर छोडी सके ।
शहरले जति सुकै फुर्ती गरे पनि ,
प्रत्येक दशैमा ,
मेरो शहरले भोगेको ,
नमिठो नियती ,
म आफैले ,
धेरै पटक भोगी सके ।
प्रतिक्रिया दिनुहोस्