काठमाडौं ६असोज ०७४/ प्रेस काउन्सिलले आफ्नो ४८ औं स्थापना दिवसको अवसरमा पत्रकारिताका विभिन्न विधाका पुरस्कारहरु वितरण गरेको छ ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको गोपालदास पत्रकारिता पुरस्कार बुटवलका पत्रकार बालकृष्ण चापागार्इं र सुरेन्द्रबहादुर बस्नेत पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झालाई प्रदान गरिन् ।
सो पुरस्कारको राशी १ लाख पाँच हजार रहेको छ ।
त्यस्तै युवा सशक्त पत्रकारिता पुरस्कार, समावेशी, महिला, लेखन, सहित्यलगायतका छुट्टै छुट्टै पुरस्कारबाट गरी ३९ जना पत्रकार पुरस्कृत भएका छन् । सबै पुरस्कारको राशी १० हजार रहेको छ ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सञ्चारकर्मीसँग आग्रह गरिन् । उनले स्थानीय तहको निर्वाचन सफल पार्न सञ्चारमाध्यमले ठूलो भुमिका खेलेको भन्दै प्रशंसा गरिन् ।
पत्रकारितामा हतारका नाममा गल्ती हुने घटना पनि बढ्दै गएको र सामाजिक सञ्जालहरुमा सकारात्मकभन्दा नकारात्मक घटनाले महत्व पाउन थालेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पछिल्ला दिनमा पत्रकारितामा आचारसंहिता कार्यान्वयनको अवस्था दयनीय भएको बताए ।
पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले स्थानीय विकास मन्त्रालयले सञ्चारमाध्यमका बारेमा बनाएको कार्यविधि संविधान विपरीत भएकाले तत्काल हटाउन माग गरे ।