काठमाडौं २६ भदौ ०७४/कपन, बालुवाखानीस्थित बर्मेली शरणार्थी शिविरमा दिनमा पाँचपटक नमाज पाठ हुन्छ । हरेकपटक उनीहरूको प्रार्थना एउटै हुन्छ- ‘आफ्नो देश फर्कन पाऊँ ।’ तर, म्यानमार (बर्मा)मा हरेक दिन हिंसा बढ्दो छ । रोहिंग्या मुस्लिम समुदाय हरेक दिन देशबाट लखेटिइरहेका छन् । त्यसको असर नेपालस्थित रोहिंग्या शरणार्थी शिविरमा देखिन थालेको छ । ‘बर्मामा हिंसा चर्किएको एक महिनाअघि मात्र शरणार्थी शिविरमा १३ जना थपिए’, चार वर्षयता शिविरमा बस्दै आएका शरणार्थी रफिक आलम भन्छन् । तर, संयुक्त राष्ट्रसंघीय निकाय यूएनएचसीआरको रेकर्डले भन्छ, ‘बर्मामा हिंसा बढेपछि तत्काल कुनै पनि शरणार्थी नेपाल आएका छैनन् ।’
४० दिनअघि नेपाल आएका शरणार्थी सइदुला मिन बोल्दा-बोल्दै भक्कानिए । उनी सबै आफन्त उतै छाडेर नेपाल आएका हुन् । घरभित्रै थुनिएका थिए, वृद्ध बुबाआमा । परिवारका सम्पूर्ण सदस्य थुनिएर भित्रै जले । उनी भने भाग्न सफल भए । म्यानमारबाट पानीमा पौडिएर बंगलादेश पुगे । अहिले उनी नेपालको शिविरमा दिनभर टोलाएर बस्छन् । अर्का शरणार्थी अबुथ कर भन्छन्, ‘हामीले खाइरहेको बेला उनीहरू आउँछन् । खान दिए अलिकति खान्छन् । नभए भोकै बस्छन् ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
आइतबार शिविरमा भेटिएका उनीहरूले शरीरमा भएका गोलीका दाग देखाउन थाले । सिमानामा उनीहरूलाई गोली दागियो । कति त त्यहीं ढले । दाग कसैको हातमा छ कसैको पेटमा । उनीहरूको दाबी छ, ‘आठ सय वर्षदेखि हाम्रा पुर्खा बर्मामा बस्दै आएका हुन् ।’ यूएनएचसीआरले उनीहरूलाई केही समय आर्थिक सहयोग गर्यो । घरमूलीलाई पाँच हजार तीन सय ५०, श्रीमतीलाई तीन हजार पाँच सय र बालबालिकालाई दुई हजार सात सय रुपैयाँका दरले मासिक सहयोग गर्यो । सन् २०१२ देखि नेपालमा बस्न थालेका उनीहरूले २०१४ सम्म सहयोग पाए । त्यसबाटै उनीहरूको गुजारा चल्थ्यो । त्यसपछि उनीहरूले कुनै सहयोग पाएनन् । अबुथ करले आफ्नो परिवारबाट १४ हजार रुपैयाँ पाउँथे । आर्थिक सहयोग रोकिएपछि अहिले उनीहरूलाई जीवन धान्न गाह्रो भएको छ ।
बर्मामा हुँदा कृषि पेसा अँगालेका उनीहरूले काठमाडौंमा केही काम पाएनन् । ‘हामीलाई सिमेन्टको काम गर्न आउँदैन । हेल्पर बन्ने हो’, अबुथ कर भन्छन् । त्यसबापत दिनमा तीन सयदेखि चार सय रुपैयाँसम्म कमाइ हुन्छ । उनीहरू बाँच्ने आधार त्यही कमाइ भएको छ । उनीहरूले वार्षिक एक लाख ४५ हजार रुपैयाँमा जग्गा भाडा लिएर शिविर खडा गरेका हुन् । प्रत्येक परिवारबाट उठाएर तिर्नुपर्ने जग्गा भाडा अब कसरी तिर्ने भन्ने अर्को आपत् आइपरेको छ ।