0 COMMENTS

काठमाडौं,२५ भदाै०७४/प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । हालै राप्रपाबाट अलग्गिएर बनेको नयाँ पार्टी राप्रपा प्रजातान्त्रिकका तर्फबाट मन्त्री थप गरेर सरकार विस्तार गर्ने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । राप्रपा प्रजातान्त्रिकले ४ वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्रीले ३ वटा मन्त्रालय दिएर मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

यसबारे राप्रपा प्रजातान्त्रिकसँग छलफल भइरहेको तर मन्त्रीपरिषद् सोमबार विस्तार हुने भन्ने टुंगो लागि नसकेको प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएको छ । राप्रपा प्रजातान्त्रिकका बाट सुनिल थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा, दिपक बोहोरा मध्येबाटै मन्त्री बनाउने तयारी भैरहेको छ ।

तीन जना मात्र मन्त्री भए पनि सरकारमा सहभागी हुने मनस्थितिमा रहेको राप्रपा प्रजातान्त्रिकले ती मन्त्रालयमा राज्यमन्त्री पनि नियुक्त गर्नुपर्ने माग गरेको बुझिएको छ । राप्रपा प्रजातान्त्रिकलाई सरकारमा जान पार्टी फुटाएको आरोप लागेको छ ।

निर्वाचन आयोगमा अलग्गै पार्टीको रुपमा दर्ता भएपछि राप्रपा प्रजातान्त्रिकका सांसद पद के हुने भन्ने कानुनी अल्झनका बीच प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सामेल गराउन लागेका हुन् ।

आयल निगमको भ्रष्ट्राचार प्रकरणमा मुछिएका तत्कालिन मन्त्री दिपक बोहोरालाई मन्त्री बनाउने कुरालाई पनि विरोध भैरहेको छ । त्यस्तै राप्रपा प्रजातान्त्रिकलाई राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्चमा दायर गरेको मुद्धामा पनि सर्वोच्चले छलफलका लागि बोलाएको भएपनि प्रधानमन्त्रीले सरकारमा सामेल गराउनु फेरी विवादस्पद हुने संकेत देखिएको छ

प्रधानमन्त्री देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालयमध्येबाट ३ मन्त्रालय राप्रपा प्रजातान्त्रिकलाई दिने तयारी गरेको बताइएको छ ।
अहिले प्रधानमन्त्री, ३ जना उपप्रधानमन्त्री, २३ जना मन्त्री र २३ जना राज्यमन्त्री गरी ५० सदस्यीय मन्त्रिपरिषद रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।