0 COMMENTS

फलेवास (पर्वत), २४ भदौ०७४/कुश्माबजारमा ठूला पशु चौपाया बध गर्ने अत्याधुनिक पशु बधशाला निर्माण भएको छ ।

कुश्मामा झण्डै रु दुई करोडको लगानीमा बसेल पशु बधशाला निर्माण भएको हो । बधशाला दशैँअगावै सञ्चालनमा आइसक्ने भएको छ ।

बसेल ताजा मासु पसलका सञ्चालक शिवलाल सार्कीले सञ्चालन गर्न लागेको पशु बधशाला ठूला पशु बध गर्ने पश्चिमाञ्चलकै सबैभन्दा ठूलो र अत्याधुनिक बधशाला हो । सार्कीले कुश्माबजारमा व्यवस्थित बधशालाको अभावमा फोहर ठाउँमा असुरक्षित हिसाबले पशु बध गर्दै आएका कारण व्यवस्थित र अत्याधुनिक बधशाला निर्माण गरिएको बताउनुभयो । “असुरक्षित हिसाबले फोहर ठाउँमा बध गरिएको मासु खाँदा स्वास्थ्यमा असर परिरहेको छ”, उहाँले भन्नुभयो, “कुश्मालगायत बागलुङ, बेनी र पोखरासम्म स्वस्थ्यकर मासु उपलब्ध गराउन आधुनिक बधशालाको आवश्यकता अब पूरा भएको छ ।”

कुश्माबजारको जिरो किमी नजिक निर्माण भएको बधशाला ठूला पशुलाई बध गर्ने आधुनिक तरिकादेखि सफा गर्ने र काट्ने काममा पनि पूरै सुरक्षित र आधुनिक प्रविधि जडान गरिएको छ । यहाँ तयार गरिने मासु डिफ्रिजमा राखेर पोखरासम्म पठाइने र बिक्री गर्ने व्यवस्था मिलाइएको सार्कीले बताउनुभयो ।

बधशालामा सार्कीको जमिन र लगानी गरी रु एक करोड ५० लाख खर्च भइसकेको छ भने पशुपक्षी बजार प्रवद्र्धन आयोजनाले रु ५० लाख अनुदान दिएको छ । बधशाला सञ्चालनमा आएपछि दैनिक २० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य उहाँले राख्नुभएको छ ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा सुधीरकुमार थापाले राँगा भैँसीजस्ता ठूला पशुबध गर्ने पश्चिमाञ्चलकै आधुनिक र ठूलो पशु बधशाला कुश्मामा निर्माण भएको बताउनुभयो ।

अहिलेसम्म कुखुरा बध गर्ने कोल्डस्टोर्स धेरै निर्माण भए पनि ठूला पशु बधशाला निर्माणमा ध्यान नगएकाले कुश्मामा शुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।