काठमाडौँ, २३ भदौ०७४/ नेपाली सेनाले अविरल वर्षाका कारण आएको बाढीले क्षतिग्रस्त सडक, कल्भर्ट तथा बाटो मर्मत गरी आगामी असोज २ गते प्रदेश नं २ मा हुने तेस्रो चरणको निर्वाचनमा मतदातालाई मतदान केन्द्रसम्म पुग्ने पहुँच मार्ग तथा सडक सञ्चालन गर्ने कार्यलाई तीव्रता प्रदान गरेको जनाएको छ ।
सो क्रममा राजविराजस्थित डुम्री–राजदेवी तथा बिरौल–डुम्री–शिवथान–देउरी सडक खण्डका विभिन्न स्थानमा परेका ठूलाठूला खाल्डामा माटो तथा गिट्टी भरी सवारी साधन सञ्चालन गराउने काम भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सप्तरीकै भारदह–पोर्ताह–मयनकडरी–बग्धुवा सडकखण्डमा बाढीद्वारा कटान भएको सडक मर्मत भएको, हनुमाननगर कंकालिनी इलाकामा २८ मिटर कटान भई छ फिट गहिरो खाल्डो परी पूर्ण क्षति भएको सडकमा माटो तथा गिट्टी भरिएको र सिरहाको सिराह नपा– ९ गुलेरिया, विष्णुपुर, राजपुर, गोलबजार बेतुना गुर्धाम र भगवानपुर इलाकाको क्षतिग्रस्त सडकखण्डमा बालुवा तथा माटो भर्र्ने कार्य भएको पनि सेनाले जनाएको छ ।
बाराको कलैया उपमहानगरपालिका १६, १७, २३ र ब्रह्मपुरी इलाकामा क्षतिग्रस्त तीन किमी कच्ची सडकखण्डमा माटो तथा ढुंगा भरि मतदानस्थलसम्म जाने बाटो तथा पर्साको मसिहानी, लक्ष्मीपुर, पसैनी, जगन्नाथपुर, श्रीपुर तथा रंगपुर इलाकामा बाढीले क्षति पु¥याएको कच्ची सडक मर्मत गरिएको जनाइएको छ ।
धनुषाको मिथिला विहार नपा– ५ इलाकाको क्षतिग्रस्त सडकमा माटो तथा गिट्टी भर्नुका साथै अनौठा इलाकाको कच्ची सडकमा माटो भरि कल्र्भट मर्मत तथा सर्लाहीको मलंगवा नपा भाटसर, खुटौना इलाकामा क्षतिग्रस्त बाटो निर्माण गरिएको सेनाले जनाएको छ ।