0 COMMENTS

काठमाडौं २३ भदौ०७४/नेपाल राष्ट्र बैंकले दसैँमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकले आफ्ना आठवटा कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत नयाँ नोट सटही सुविधा दिने भएको हो । आगामी २८ भदौदेखि सर्वसाधारणले नयाँ नोट लिन सक्ने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । ‘राष्ट्र बैंकले उपत्यकामा थापाथली र उपत्यकाबाहिरका सात प्रदेशमा रहेका क्षेत्रीय कार्यालयमार्फत नयाँ नोट उपलब्ध गराउनेछ,’ उनले भने, ‘यसपालिलाई एकजना व्यक्तिले २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछ ।’

राष्ट्र बैंकले सरकारी स्वामित्व रहेको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका केही शाखामार्फत नयाँ नोट सटही सुविधा दिने उनले जानकारी दिए । नेपाल बैंकको न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर शाखामा नयाँ नोट पाइनेछ । त्यस्तै, वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार र नक्साल शाखामा नयाँ नोट सटही सुविधा उपलब्ध हुनेछ । कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखाबाट समेत नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यी शाखाबाट भने प्रतिव्यक्ति २० हजार रुपैयाँबराबरको मात्रै नयाँ नोट साट्न सकिने उनले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

‘सर्वसाधारणलाई सहज होस् भनेर सरकारी स्वामित्वका बैंकका शाखामार्फतसमेत नयाँ नोट सटही सुविधा दिने व्यवस्था गर्ने भएको हो,’ उनले भने, ‘यसले गर्दा नयाँ नोटका लागि भिडभाड हुने र लामो लाइन बस्नुपर्ने अवस्थालाई घटाउनेछ ।’ यस वर्ष सर्वसाधारणलाई ५, १०, २०, ५० र १ सय दरका नयाँ नोट उपलब्ध गराइने केन्द्र बैंकले जनाएको छ । नयाँ नोट सटही सुविधा १० दिन अर्थात् ७ असोजसम्म लिन सक्नेछन् ।

यस वर्ष करिब ४० अर्ब रुपैयाँको नयाँ नोट सटही हुने अनुमान गरिएको प्रवक्ता पौडेलले बताए । उनका अनुसार अघिल्लो वर्ष करिब ३२ अर्ब रुपैयाँ नयाँ नोट सटही भएका थिए । राष्ट्र बैंकले ३ वर्षका लागि अनुमानित नयाँ नोट मौज्दात गर्ने गरेको छ । सोही मौज्दातबाट दसैँका वेलामा नयाँ नोट सटही सुविधा दिने गरेको छ ।

सरकारी निकायलाई २१ भदौदेखि
राष्ट्र बैंकले संवैधानिक निकाय, सरकारी निकाय, संस्थान, प्रहरी, सेना, सशस्त्र प्रहरी र अन्य संघसंस्थालाई पत्रको आधारमा २१ भदौदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । त्यस्ता निकाय, कार्यालय तथा संघसंस्थाले भने राष्ट्र बैंकको थापाथली कार्यालयबाट सटही सुविधा लिनुपर्ने हुन्छ ।

बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट
केन्द्र बैंकले दसैँलाई नै लक्षित गरेर बैंक तथा वित्तीय संस्थाहरूलाई समेत नयाँ नोट उपलब्ध गराउने गरेको छ । सबै वर्गका बैंक तथा वित्तीय संस्थालाई निश्चित कोटा नै छुट्याएर नयाँ नोट उपलब्ध गराउँदै आएको उनले बताए । ‘खासगरी बैंक तथा वित्तीय संस्थाका कर्मचारी र ग्राहकलाई लक्षित गरेर नयाँ नोट दिइन्छ,’ उनले भने, ‘त्यहाँबाट समेत सर्वसाधारणले नयाँ नोट प्राप्त गर्छन् ।’ उनले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउने नयाँ नोटको परिमाणका बारेमा भने निर्णय भइनसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।