0 COMMENTS

काठमाडौं २२भदाै ०७४/नेताहरूको स्वार्थका कारण नेपाली कांग्रेसले मनोनय दर्ता गर्नु एक दिन पहिला उम्मेदवारहरूको सूची सार्वजनिक गरेर फेरि आलोचना खेप्न पुगेको छ । उम्मेदवारहरूलाई मन फुकाएर प्रचार प्रसार गर्ने मौका नमिलेको गुनासो आउन थालेका छन् । यसअघि पनि कांग्रेसले ढिला गरेर उम्मेदवारहरूको टुंगो लगाएका कारण धेरै स्थानमा नोक्सानी व्यहोर्नु परेको आरोप लागेको थियो ।

यसपटक २ नं. प्रदेशमा समयमा टिकट वितरण गर्ने भनिए पनि केन्द्रीय सदस्य विमलेन्द्र निधिका कारण धेरै ठाउँमा समस्या भएको एक केन्द्रीय सदस्यले बताए । ‘२ नं. प्रदेशमा विमलेन्द्र निधिले अधिकांश स्थानमा हस्तक्षेप गरेका कारण टिकट वितरणमा ढिलाइ भयो’, ती सदस्यले भने,‘यसपटक पनि कांग्रेसका राम्रा नेताहरू टिकट पाउनबाट बञ्चित भएका छन् ।’ कांग्रेसले कतिपय स्थानमा माओवादी र राजपा नेपालसँग तालमेल गरेको छ । ती स्थानमा पनि कांग्रेसले जित्ने सम्भावना रहँदा रहँदै पनि तालमेल गरेर पार्टीलाई क्षति पु-याएको टिप्पणी हुन थालेको छ ।

टिकट वितरणमा सभापति शेरबहादुर देउवाको आड भरोसामा निधिले हस्तक्षेप गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक नै बहिष्कार गर्नु परेको थियो । तर, अर्को दिन सहमति गरेर टिकट वितरणको प्रयास भएको थियो । तैपनि २ नं. प्रदेशमा नेता निधि हाबी भएका छन् । अधिकांश उम्मेदवार निधि निकट रहेको आरोप छ ।

निधिको हैकम विरुद्ध रामचन्द्र पौडेल, खुमबहादुर खड्का, कृष्णप्रसाद सिटौला समूह एकजुट भएका छन् । उनीहरूले निधि र सभापति देउवालाई पार्टीभित्र असहयोगको ठूलो रणनीति बनाएको स्रोतको भनाई छ ।

यसैबीच, कांग्रेसका प्रभावशाली नेता तथा भ्रष्टाचार आरोपमा सजाय भोगेका खुमबहादुर खड्काबाट डराएका पौडेल, निधि, सिटौलालगायतको समूहले राजनीतिमा आउनै नसक्ने गरेर कानून बनाउन बाध्य बनाएका छन् । निर्वाचनसम्बन्ध कानूनमा निधि, पौडेल र सिटौला समूहले आफू अनुकूल पारित गराएका छन् । सभापति तथा प्रधानमन्त्री देउवा भ्रष्टाचार आरोपमा सजाय पाएकालाई तीन वर्षपछि निर्वाचनमा उम्मेदवार बन्न पाउने प्रावधान राख्न तयार रहेका थिए ।

तर, खड्कासँग डराएका पौडेल, निधि र सिटौलाले भ्रष्टाचारीलाई उम्मेदवार बनाउने कानून पारित हुन लाग्यो भनेर एमाले र माओवादीका सांसदमार्फत समाचार बाहिर पु-याएका थिए । सिङ्गो कांग्रेस र संसद नै नेता खड्काविरुद्ध लागेको चर्चा हुन थालेको छ । खड्कासँग केही क्षमता छ भन्ने कुरा निर्वाचन विधेयक पारित गर्ने बेलाको अवस्था देखेर एमालेका नेताहरूले समेत जिब्रो टोकेका थिए । यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।