0 COMMENTS

धुलिखेल, १७ भदौ०७४ / सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकलाई अग्रगामी निकास दिन सबै एक ढिक्का हुनुपर्ने बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको बनेपामा बेलर इन्टरनेशनल एकेडेमीले आयोजना गरेको विद्यालयका विद्यार्थीलाई स्वागत तथा विदाई कार्यक्रममा मन्त्री बस्नेतले अब मुलुक बन्नका लागि आ–आफ्नो ठाउँमा भएका राजनीतिक र अन्य विचारलाई एक ठाउँमा थाती राखेर सिङ्गो राष्ट्र बनाउन सबैैजना एक ठाउँमा आउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सबै वर्ग, समुदाय र राजनीतिक पार्टीहरु एक ठाउँमा उभिन सक्यौँ भने मात्रै मुलुकमा भएका स्रोत र साधनहरुलाई परिचालन गर्दै दुई ठूला आर्थिक सम्पन्न देशको बीचमा रहेको नेपाल समृद्ध बनाउन सक्ने उल्लेख गर्नुभयो ।

लामो समयदेखि संक्रमणकालीन अवस्थामा गुज्रिरहेको मुलुक अब राजनीतिक अन्यौल र खिचातानीमा नअल्मलिइकन आर्थिक र राजनीतिक निकास पाउने खालको बातावरण बनाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री बस्नेतले संविधानमा राज्यका सबै वर्ग, तप्का र क्षेत्रका नागरिकले अपनत्व महशुस गरुन् भन्नका खातिर सरकारले स्थानीय निर्वाचनमा पहिला र दोस्रो चरणमा भाग नलिएका राजनीतिक दलहरुलाई पनि समेट्न प्रयास गरेको बताउनुभयो ।

आगामी दिनमा त्यो पार्टी, यो पार्टी, त्यो विचार यो विचार नभनीकन चुनाव कुन पार्टीले जित्छ भनेर सोच्नुभन्दा पनि यो देशको लोकतान्त्रिक शासन पद्धति, संघीयता र समावेशिता अर्थात नेपाल र नेपालीले जित्नुपर्दछ भन्ने दृष्टिकाणले सबै लाग्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

मन्त्री बस्नेतले राजनीतिक हिसाबले मात्रै नभई कुटनीतिक हिसाबले पनि छिमेकी देशहरुको पनि सहयोग लिएर देशको भूभागलाई कसैको इच्छामा चल्न नदिएर हाम्रो राष्ट्रिय इच्छालाई स्थापित गर्नतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।

सो अवसरमा विद्यालयले सोही विद्यालयमा अध्ययन गरी हाल काठमाडौं विश्वविद्यालयमा ब्याचलर अफ जियोम्याट्रिक इञ्जिनियरिङमा सर्वोत्कृष्ट भएका संघर्ष थापा, शिर मेमोरियल अस्पतालबाट बिएससी नर्सिङ्गमा सर्वोत्कृष्ट भएका यजुना बैदार र काठमाडौं विश्वविद्यालयमा बिबीआईएसमा सर्वोत्कृष्ट भएका गणेश थापालाई सम्मान गरिएको छ ।

त्यस्तै, विद्यालयले पत्रकारिता क्षेत्रबाट जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याएको भन्दै पत्रकार मोतीराम तिमल्सिना र देवराज केसीलाई सम्मान गर्नुका साथै रोशी गाउँपालिका प्रमुखमा निर्वाचित दलबहादुर लामालाई समेत सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।