0 COMMENTS

काठमाडौं, १६ भदौ  ०७४/सरकारले मिति तोके अनुसार मंसिर १० र २१ गरी दुर्इ चरणमा हुनेगरी निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको ठोस कार्यतालिका तय गरेको छ ।

भौगोलिक अनुकूलतालाई आधार मानेर पहिलो चरणमा हिमाली एवं उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा मंसिर १० गते र बाँकी जिल्लामा मंसिर २१ गते निर्वाचन हुने भएको छ । सोही आधारमा आयोगले सरकारलार्इ ७ बुँदामा समेटेर ‘कडा’ निर्देशन जारी गरेको छ ।

यस्ता छन् निर्वाचन आयोगका सरकारलाई ७ निर्देशन–

१. सरकारको स्वामित्वमा रहेका वा सरकारी कोष एवं सर्वसञ्चित कोषबाट खर्च हुने र सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै पनि राजनीतिक नियुक्ति नगर्ने ।

२. युएन, सार्कलगायतका अन्तर्राष्ट्रिय संस्था तथा क्षेत्रीय संगठनहरूमा भाग लिन वा विदेशी राष्ट्रको भ्रमणमा राज्यको प्रतिनिधित्व गर्नेबाहेक अन्य वैदेशिक भ्रमणमा रोक लगाउने । राज्यको प्रतिनिधित्व गर्ने गरी विदेश भ्रमणमा पठाउनुपरे आयोगबाट स्वीकृति लिनुपर्ने।

३. कर्मचारीहरूको सरुवा र काज सरुवा नगर्ने ।

४. प्राकृतिक प्रकोप वा अकल्पनीय घटना, उच्च राष्ट्रिय प्राथमिकतासँग सम्बन्धित विषयहरूमा वा राष्ट्रिय गौरवका आयोजनाहरूको हकमा बजेट थप, रकमान्तर तथा कार्यक्रम संशोधन गर्दा आयोगबाट पूर्वस्वीकृति लिनेबाहेक अन्य अवस्थामा बजेट थप, रकमान्तर तथा कार्यक्रम संशोधन, सहमति, माग नगर्ने ।

५. राजनीतिक नियुक्ति पाएका व्यक्तिले जिल्ला भ्रमण गर्दा निर्वाचन प्रचारप्रसार बाहेकका सरकारी काममा मात्र सवारी साधन प्रयोग गर्ने ।

६. प्रधानमन्त्रीले हेलिकप्टर प्रयोग गर्दा आयोगबाट स्वीकृति लिनुपर्ने । मन्त्री तथा सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी काममा हेलिकप्टर प्रयोग नगर्ने । साथै, निजी हेलिकप्टर प्रयोग गर्नुपर्दा आयोगको पूर्वसहमति लिएर मात्र प्रयोग गर्ने ।

७. १४ भदौबाट निर्वाचन आचारसंहिता लागू भएकाले आचारसंहिताको पूर्ण रूपले परिपालना गर्ने र गराउने ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।