काठमाडौँ,शरद शर्मा, २९ साउन/सिन्धुपाञ्चोक तातोपानीका जाङ्गु लामाले बबरमहलस्थित क्षेत्रीय निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली संकलन केन्द्रमा गई फोटोसहितको मतदान परिचय पत्रमा नाम दर्ता गराउनुभयो ।
पहिलोपटक फोटोसहित नामावलीमा नाम दर्ता गराएपछि उहाँ अब हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा मतदान गर्न पाउने हुनुभएको छ ।
काठमाडौँ बस्दै आउनुभएकी गोरखा तान्द्राङकी मायादेवी खनालले गोरखामा रहेको आफ्नो मतदाता नामावली यहाँ सार्नु भयो ।
जाङ्गु र मायादेवीजस्ता मतदाता नामावलीमा नाम छुटेका, नामावली सार्ने र नामावलीमा त्रुटि भएकाले नाम दर्ता गराउने, नामावली सार्ने र त्रुटि सच्याउने कार्य गरिरहेका छन् ।
अहिले काठमाडौँमा रहेका तीन संकलन केन्द्रबाट आगामी सङ्घ र प्रदेश निर्वाचनका लागि देशभरिका मतदान गर्न योग्य नागरिकको नाम दर्ता, ठाउँ सार्ने र त्रुटि सच्याउने कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख चन्द्र गौतमले बताउनुभयो । उहाँले ती ठाउँमा अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि भीड नै लाग्ने गरेको बताउनुभयो ।
कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय, बबरमहलस्थित जिल्ला समन्वय समिति र राष्ट्रिय सभागृहमा मतदान नामावलीमा छुट भएका नागरिकले गई फोटोसहितको मतदाता परिचय पत्र बनाइरहेका छन् । तीबाहेक साउन १६ गतेदेखि काठमाडौँ जिल्लाका १० नगरपालिकाबाट मतदाता परिचय पत्र बनाइरहेका छन् ।
जिल्ला समन्वय समितिमा ११ वटा स्थान र सभागृहमा १० वटा स्थानमा फोटोसहितको नामावली संकलन गर्ने कार्य भइरहेको छ ।बबरमहलस्थित संकलन केन्द्रमा खट्नुभएका कार्यालयका अधिकृत शान्ति बोगटीले फोटोसहितको नामावली दर्ताका लागि सर्वसाधारणको भीड रहेको बताउनुभयो । उहाँले दैनिक करिब एक हजार पाँचसय मतदाताको नाम दर्ता गर्ने कार्य भइरहेको बताउनुभयो ।
केन्द्रमा १७ जना कर्मचारीले बिहान ७ देखि साँझ ६ बजेसम्म फोटोसहितको नामावली दर्ता गराउने गर्नुहुन्छ । उहाँका अनुसार सबभन्दा बढी रामेछाप, सिन्धुली, सिन्धुपाञ्चोक, बारा, पर्सा, सर्लाही जिल्लाका अधिकांश मानिस मतदाता नामावलीमा नाम दर्ता गराउन आएका छन् । उहाँले दुईदेखि पाँच मिनेटभित्रमा फोटोसहितको नामावली दर्ता गराउने बताउनुभयो ।
अहिलेसम्म काठमाडौँस्थित सो केन्द्रमा करिब ६० हजारले नाम दर्ता गराएका छन् । तीमध्ये ४२ हजार काठमाडौँ बाहिरका जिल्लाका रहेको गौतमले बताउनुभयो । उहाँका अनुसार दुई हजार पाँचजनाको ठाउँसारी र पाँचसयजनाको त्रुटि सच्याउने काम सम्पन्न भएको छ ।
साउन १ गतेदेखि मसान्तसम्म केन्द्रबाट नामावली संकलन भइरहेको छ भने साउन १६ गतेदेखि भने देशभरिका स्थानीय तहबाट पनि नामावली संकलन गर्ने कार्य थालिएको छ ।