पाँचथर, २७ साउन०७४/ स्थानीय फालेलुङ गाउँपालिका–२ चुक्पादिनमा आएको पहिरोमा पुरिएर एक व्यक्तिको मृत्यु भएको छ भने तीनवटा घर पुरिएको छ ।
मृत्यु हुनेमा ८० वर्षीय त्रिलोचन विक रहेका छन् । घरमाथिबाट आएको पहिरोले पुरेर उनको मृत्यु हुनुका साथै उनको घर पनि बगाएको प्रहरीले जनाएको छ ।सोही स्थानका घाँस काट्न गएका दुई व्यक्ति पनि अहिलेसम्म सम्पर्कविहीन रहेको बताइएको छ ।सोही स्थानका कमल जबेगुको घर र खेत तथा निलु बानियाँको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले बताउनुभयो ।
यसैगरी फालेलुङ गाउँपालिका–३ ताङ्लेपास्थित नेवा खोलामाथी आज बिहान आएको पहिरोमा परी तीनजना बेपत्ता बनाएका छन् । बेपत्ता हुनेहरुमा स्थानीयवासी विष्णु राई उनकी छोरी सुस्मिता र नातिनी रहेको स्थानीय दीपेन्द्र चौहानले बताउनुभयो ।
आफ्नै घरमाथिबाट झरेको पहिरोले विद्युत् गृह कुर्न बसेका उनीहरुलाई बगाएर बेपत्ता बनाएपछि अहिले जोरपोखरी प्रहरी चौकी र भैरवी दल गणको टोली र स्थानीयवासी मिलेर बेपत्ताहरुको खोजी भइरहेकोे भैरवी दल गण ओदिन ब्यारेकका गणपति शिवराम पन्तले जानकारी दिनुभयो ।पहिरोले राईको घर र गोठमा रहेको एक हल गोरु पनि बगाएको जनाइएको छ ।