0 COMMENTS

काठमाडौँ, २५ साउन । प्रत्येक वर्ष पाटनमा मनाइने ‘मतया पर्व’ आज बिहान शुरु भएको छ ।गाईजात्राको भोलिपल्ट पर्ने सो पर्वमा दिवंगत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गरेका छन् ।

विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने सो पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने गरिन्छ ।

आजै साँझसम्म हुने सो कार्यक्रममा मानिसलाई सिंगारिएर स्थानीय नागवहालबाट विभिन्न टोलमा परिक्रमा गराई पुनः नागवहालमा आउने व्यवस्था मिलाइएको छ । यसो गर्दा वर्षभरि मृत्यु भएका व्यक्तिको आत्माले शान्ति प्राप्त गरी स्वर्ग (सुखावती भुवन) मा बास गर्ने सम्बन्धित धर्मावलम्बीको विश्वास छ ।

उक्त पर्वका क्रममा ससाना बालबालिका तथा वयस्कलाई समेत आआफ्ना इलाकामा परिक्रमा गराउने गरिन्छ । सोही क्रममा विभिन्न टोलटोलमा भएका बौद्ध सम्पदा, चैत्य तथा वहा वहीमा दीप प्रज्वलन गरिन्छ ।यात्राका क्रममा सहभागी भक्तजनलाई विभिन्न स्थानमा फलफूल, रोटी, अन्न तथा द्रव्य दानसमेत गर्ने परम्परा रहेको स्थानीयवासी रवीनमुनि बज्रचार्यले जानकारी दिनुभयो ।

मृतकका आफन्तले पितृको स्मृतिमा निकालिने मतया पर्वमा सहभागी भएमा सुख, शान्ति तथा पारिवारिक समृद्धि कायम हुने बताइएको छ ।

के हुन्छ मतया: को दिन?

मतया: यात्राको दिन यसमा सहभागी हुनेहरूले पाटनभर छरिएर रहेका १,४०० धार्मिक स्थलहरूको भ्रमण गर्नु पर्ने हुन्छ । यात्रा सखारै सुरु हुन्छ र विशेष पुजारीले यात्राको नेतृत्व गर्ने गर्दछन् । यात्रा सक्न दिन भर नै लाग्ने गर्दछ ।

यात्राको क्रममा भक्तजनहरूले आफ्नो गच्छ अनुसार चामल, फूल र पैसा चैत्यहरूमा चढाउने गर्दछन् । यात्रामा हिँड्नेहरू मध्ये कसैले परम्परागरत बाजा बजाउँछन् भने कसैले मैन बत्ती समाएर हिँड्छन् । अरूहरू चाहीँ राक्षसको रूप धारण गरेर पनि यात्रामा सरिक हुन्छन् ।

के भन्छ इतिहास ?

स्थानीयका अनुसार यो यात्राको शुरुवात लिच्छवीकालमा भएको हो । राजा बालचन्द्र देवका छोरा गुण कामदेवले पाटका १० टोल : मङ्गलबजार, चक्रबहिल, इखा छे:, बुबहाल, हउगल, ओकुबाहाल, कोबाहाल, सौगल र नकबहिलका जनतालाई सम्मिलित गरेर यो यात्रा शुरु गरेको मान्यता छ । मतया:लाई नेकु जात्रा पनि भन्ने गरिन्छ । नेवारी भाषामा ‘नेकु’ ले भैसीलाई चिनाउँछ । गाइजात्राको भोलिपल्ट मनाइने हुँदा यसलाई नेकु मतया भनिएको पनि हुनसक्छ ।

नेवारी भाषामा ‘मत:’ को अर्थ बत्ती हुन्छ भने ‘या’ को अर्थ ‘चाडपर्व’ अथवा ‘यात्रा’ हुन्छ । ‘गुँला’को मध्यमा पर्ने हुनाले पनि यसलाई जिवनरुपी यात्राको उच्च विन्दूको उत्सवको रूपमा लिने गरिएको छ ।

अर्को कथा चाहीँ गौतम बुद्धसँगै जोडिएको छ । भगवान बुद्ध बोध गयामा पिपलको रूखमनि बसेर ध्यान गरिरहँदा ‘मार’ नाम गरेका राक्षसले दु:ख दिएको थियो । उसले बुद्धको आसन आफ्नो भएको दावि गरेको थियो र बुद्धलाई त्यहाँबाट हटाउन आफ्नो सेना पठाएको थियो ।

सेनाका सबैले एकै स्वरमा सोधेका थिए : यो ठाउँ तिम्रो हो भनेर को साक्षी छ ?

जमिन मुनिबाट पृथ्वीले भनेकी थिइन् : म साक्षी छु ।

यति भने पछि मार र उसका सेना गायव भएका थिए । भनिन्छ उनीहरू सिधै यमलोक पुगे ।

काठमाडौंमा मनाइने गाइजात्रा पर्वलाई यो घटनासँग पनि जोड्ने गरिन्छ । गाइजात्राकै दिन मार यमलोक पुगेका र यो दिन मर्ने मानिसहरूले मुक्ति पाउने कथन पनि रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।