काठमाडाैं, २३ साउन०७४/ मैथिल, भोजपुरी र तराईका अन्य जिल्लामा दाजुभाइ दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रुपमा रहेका रक्षाबन्धन पर्व आज धार्मिक विधिअनुरुप हर्षोल्लासका साथ मनाइँदैछ ।
दीर्घायु, सुख, समृद्धिको कामना गर्दै मैथिल र भोजपुरी समाजका दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी मनाउने चाड हो, रक्षाबन्धन । धर्म, संस्कृति र चाडवाडका दृष्टिले समृद्ध मैथिल र भोजपुरी समाजमा मनाइने अनेक पर्वमध्ये यस पर्वमा दाजुभाइ–दिदीबहिनीबीचको पवित्र, स्नेही, आत्मीय र निस्वार्थ सम्बन्धलाई उजागर गरेको छ ।
रक्षाबन्धनका दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुख, समृद्धि र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको बचन लिने गर्छन् ।
मिथिला पञ्चाङका आधारमा बिहान ११ बजेदेखि मध्यान्ह २ बजेसम्म शुभसाइतमा रक्षाबन्धन (डोरो) का साथै ब्राह्मणबाट रक्षासूत्र बाँध्न सकिने पण्डित गणेश पाण्डेले बताउनुभयो । सोमबार राति ११ बजेर ७ मिनेटदेखि चन्द्रग्रहण लाग्ने भएकाले उक्त निर्धारित समयमा गर्दा कुनै प्रकारको प्रभाव नपर्ने उहाँले बताउनुभयो ।
सो दिन मैथिल र भोजपुरी समाजको घर घरमा दिदीबहिनीले हर्षोल्लासका साथ आफ्ना दाजुभाइका लागि मीठोमीठो खानेकुराको परिकार बनाएर बिहान नुहाइधुवाई गरी घरको आँगनमा पिठारको (चामलको पिठो) अर्पणा बनाई त्यसमाथि सिन्दूर र अबीरले सजाएर राखिएको ठाउँमा काठको पिर्कामाथि दाजुभाइलाई बसाएर हातमा कलात्मक राखी बाँध्ने र निधारमा टीका लगाई दिदीबहिनीले दाजुभाइको पूजा गर्ने गर्दछन् । कतिपय दिदीबहिनीले दाजुभाइलाई कुर्सीमा बसाएर नै हातमा कलात्मक राखी बाँध्ने र निधारमा टीका लगाएर पूजा गर्ने चलन पनि रहेको छ ।
टीका दाहिने हातले लगाइन्छ तथा राखी पनि दाहिने हातमा नै बाँधिन्छ । यो विधिले मानवलाई सधैँ श्रेष्ठ अर्थात् सकारात्मक चिन्तन गर्दै श्रेष्ठ कर्म गराैं जसबाट आत्मा दुःखी, अशान्त तथा अनिष्ट परिणामबाट सुरक्षित रहन सकोस् भन्ने प्रेरणा दिन्छ ।
पूजा सम्पन्न भएपछि दाजुभाइले आफ्नो हैसियतअनुसार दिदीबहिनीलाई विभिन्न उपहार, गरगहना, लत्ताकपडा अथवा रुपैंयाँ पैसा दक्षिणास्वरुप दिने प्रचलन छ । त्यसपछि दिदीबहिनीले पकाएको मिठो÷मिठो परिकार दाजुभाइले खाने गर्छन् । दाजुभाइलाई खुवाएपछि मात्र दिदीबहिनीले पनि भोजन ग्रहण गर्छिन् । मीठोमीठो परिकार वा मिठाइ खुवाउनुको अर्थ मन तथा सम्बन्ध सुमधुर बन्न सकोस् ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयारगरी ‘जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोउ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको प्रचलन आज पनि त्यतिकै प्रचलित छ ।
मानव रक्षाका लागि सो दिन वैधिक विधिअनुरुप जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन मन्त्र पढ्दै ब्राहमणले जजमानको नाडीमा बाँधिदिने प्रचलन त्यतिकै प्रख्यात छ । यहाँ विशेषगरी दिदीबहिनी नहुने व्यक्तिले मन्त्रिएको त्यो रक्षाबन्धन ब्राह्मणको हातबाट बाँध्न लगाइ ब्राह्मणबाट आर्शिवाद लिने गरिन्छ ।
रक्षाबन्धन बाँध्न लगाइ आर्शिवाद लिइसकेपछि आफ्नो हैसियत अनुसार ब्राह्मणलाई रुपैंयाँ पैसा दक्षिणास्वरुप दिने चलन छ । रक्षाबन्धन सबै पर्वमा एउटा अलौकिक पर्व हो । सनातन् संस्कृति तथा मानवीय मूल्यलाई ऊजागर गर्ने र दिदीबहिनी दाजुभाइबीचको वैश्विक सम्बन्धलाई स्मृति दिलाउने यो पर्वमा नाडीमा बाँधिने काँचो धागोमा विश्व निर्माणका पाँचवटा सुत्र समाहित हुन्छन् । ती हुन–स्नेह सूत्र, रक्षा सूत्र, ईश्वरी सूत्र, परिवर्तन सूत्र र पवित्रता सूत्र ।
आत्मालाई आत्मासँग सम्बन्ध जोडेर विश्व भ्रातृत्वभाव बढाउने स्नेह सूत्र हो भने तन, मन, मर्यादा, देश, समाज र धर्म संस्कृतिको रक्षाको प्रेरणा दिने रक्षा सूत्र हो । त्यस्तै ईश्वरी ज्ञान, गुण, शक्ति र बरदान प्राप्ति गराउने ईश्वरी सूत्र हो भने स्वयम्लाई परिवर्तन गरेर विश्व परिवर्तनतर्फ अग्रसर गराउने परिवर्तन सूत्र हो । मन, बचन, कर्म, सम्बन्ध, शरीर सबै प्रकारको शुद्धताले भरिपूर्ण गराउने पवित्रताको सूत्र हो ।
घरबाट टाढिएर बसेका दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीय र स्नेही सम्बन्ध कायम राख्न रक्षाबन्धन पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
सरकारले रक्षाबन्धन पर्वका अवसरमा तराइका २० जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । राजधानीमा बसोवास गर्ने तराई मधेशका वासिन्दाले पनि आज हर्षेल्लासपूर्वक रक्षाबन्धन गरेका छन् ।